नेपाली

बाह्र देशका कृषि वैज्ञानिक पनौतीमा

criPublished: 2024-03-23 16:44:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एसिया प्यासिफिक रिजनका सदस्य राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिविज्ञले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा सञ्चालित जैविक विषादी प्रयोगशाला तथा पनौती क्षेत्रमा लगाइएको आलु खेतीको अवलोकन गरेका छन्। एसिया प्यासिफिक प्लान्ट क्वारेन्टाइन कमिसन तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँको संयुक्त आयोजनामा भएको जैविक विषादी व्यवस्थापनसम्बन्धी तालिमका सहभागीले पनौतीमा भएको जैविक विषादी प्रयोगशालाको अवलोकन गरेका गोरखापत्र अनलाइनले लेखेको छ।

पनौती आएको नेपाललगायतका एसिया प्यासिफिक रिजनका १२ देशका करिब ५० जना कृषिविज्ञ तथा वैज्ञानिकले पनौती नगरपालिका–१ मा सयपत्री आइपिएम कृषक समूहले सञ्चालन गरेको जैविक विषादी प्रयोगशालामा उत्पादित जैविक विषादी (ट्राइकोडर्मा) का बारेमा जानकारी लिएका थिए। अवलोकनका क्रममा समूहका अध्यक्ष तथा आइपिएम सहजकर्ता रीतकुमार सापकोटाले जैविक प्रयोगशाला स्थापना तथा जैविक विषादीको उत्पादन तथा प्रयोग गर्ने विधिका बारेमा जानकारी दिनुभएको थियो।

जैविक विषादी प्रयोगशालाको अवलोकनपछि उक्त टोलीले पनौती नगरपालिका–१० मा आलुमा प्रयोग गरिएको मल्चिङ प्रविधि तथा आलु खेतीका बारेमा अवलोकन गरेको थियो। पनौती नगरपालिका–१ मा रहेको जैविक विषादी प्रयोगशालाको स्तरोन्नति तथा क्षमता विकास गर्नका लागि सरकारी तथा गैरसरकारी निकायबाट पहल गर्ने विषयमा नगर प्रम्रख रामशरण भण्डारी र कमिसनका सचिव जिसीबिच छलफलसमेत भएको थियो।

अवलोकनका क्रममा स्थानीय कृषक चन्द्रकला थापाले आलु खेती तथा आलुमा प्रयोग गरिएको मल्चिङ प्रविधिका बारेमा जानकारी दिनुभएको थियो। साथै उक्त टोलीले स्थानीय किसानसँग कृषिका विविध विषयमा अन्तव्रिर्mया गरेको थियो। पनौतीमा रहेको जैविक विषादी प्रयोगशाला तथा आलु खेतीको अवलोकन गर्न आएको कृषि वैज्ञानिक तथा विज्ञको समूहलाई कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीले कार्यालयले सञ्चालन गरेका कार्यक्रम तथा नेपालको कृषि प्रसारसम्बन्धी जानकारी दिनुभएको थियो। कार्यक्रममा एसिया प्यासिफिक प्लान्ट प्रोटेक्सन कमिसनका कार्यकारी सचिव एवं नेपाल सरकारका पूर्वसचिव डा. युवकध्वज जिसी र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी देवराज अधिकारीले सहभागीले जैविक विषादी तथा नेपालको कृषि प्रसारको विषयमा उठाएका जिज्ञासाका सम्बोधन गर्नुभएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn