नेपाली

दिनदिनै बढ्दै काठमाडौँको तापक्रम, न्यूनतम नै ५ डिग्री सेल्सियसभन्दा माथि

CRIPublished: 2024-02-12 16:09:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

काठमाडौँ उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ। यस क्रममा आज उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीभन्दा माथि उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस पुगेको हो। यसअघि उपत्यकाको न्यूनतम तापक्रम आइतबार ४.७ डिग्री सेल्सियस, शनिबार ४.५ डिग्री सेल्सियस र शुक्रबार ३‍.५ डिग्री सेल्सियस थिए।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

यसअघि आइतबार उपत्यकाको अधिकतम तापक्रम २२.६ डिग्री सेल्सियस, शनिबार २१.३ डिग्री सेल्सियस तथा शुक्रबार १८.२ डिग्री सेल्सियस थिए।

तापक्रम बढेसँगै चिसोको मात्रा पनि घट्दै गएको छ। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। मौसम महाशाखाले तापक्रम मापक यन्त्र राखेका स्थानमध्ये आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४.९ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम धनगढी र धनकुटामा बराबर ८.५ डिग्री सेल्सियस छ। मौसमविद्का अनुसार अब देशभरकै तापक्रम बिस्तारै बढ्ने क्रममा जाँदै छ। किनभने हिउँद अवधि अब यही अंग्रेजी महिना फेब्रुअरी मात्रै हो। यसपछि प्रि-मनसुन सुरु हुने नेपालखबर अनलाइनमा खबर छ।

Share this story on

Messenger Pinterest LinkedIn