नुवाकोट महोत्सवमा लोपोन्मुख घोडा नाचको आकर्षण
नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउनेलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ । तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो । आधुनिकतासँगै हराउँदै गएको उक्त नाचलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि किस्पाङ –४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वहरुमा अभ्याससहितको प्रदर्शनी थालिएको राससले जनाएको छ।
परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको किस्पाङ–४का वडाध्यक्ष विनोद तामाङले जानकारी दिनुभयो। उहाँको अनुसार घोडचढीको सन्दर्भका यथार्थ चित्रणलाई जोडेर घोडा नाचको प्रचलनलाई निरन्तरता दिइएको हो । “मञ्जुश्री संवत् अनुसार तामाङ समुदायको नयाँ वर्षको अवसरमा मनाइने छेज्यु पर्वमा देखाइने चेमामध्येको एक तपु स्यप (घोडचढी नृत्य) मौलिक संस्कृति हो।” उहाँले भन्नुभयो, “घोडचढी नाचमा सैनिकको आकृति र स्वरूप दिन दाँया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाएर प्रतिस्पर्धा गरिन्छ । अन्य सहायक सैनिकको हातमा भाला, धनुषलगायतका युद्धकौशलका सामग्री हुन्छ ।”
घोडचढी बनेर नाच्न मानिसले शरीरका दुवैतर्फ काठ बाँधी घोडाको आकृति बनाएको हुनाले दृश्य र प्रस्तुत रोमाञ्चक मानिने गरिएको छ । नाचको नेतृत्वले झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवैतर्फबाट लामा सहभागी हुने भएकाले यस नाचलाई समूहमा प्रस्तुत गर्ने गरिएको साल्मेका ज्येष्ठ नागरिक चोक्ता लामाले जानकारी दिनुभयो ।