वसन्तपुर सबस्टेसन सञ्चालनमा
वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ। इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ। डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिङ्गल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ।
नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो।
अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर दुई २० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ। कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो।
कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारण लाइन र ढुङ्गेसाँघुमा एक सय ३२ केभी सबस्टेसन निर्माणाधीन छन्। करिब ३४ किलोमिटर डबल सर्किट प्रसारण लाइनमा पर्ने एक सय २८ वटा टावरमध्ये छ वटाको मात्र निर्माण बाँकी छ। एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारण लाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
वसन्तपुर–ढुङ्गेसाँघु दुई सय २० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ। उक्त प्रसारण लाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३/७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजना जोडिनेछन्।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ।
कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ। कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको दुई सय २० केभी प्रसारण लाइन हो।