११ देशका खेलाडी माउन्टेन बाइक रेस सहभागी
पोखरामा बिहीबारदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा ११ देशका साइक्लिस्ट सहभागी भएका छन्।
पोखरा १३ को आर्बा–बिजय डाँडामा सुरु भएको प्रतियोगितामा ११ देशका पाँच महिलासहित ५५ जना प्रतियोगी प्रतिष्प्रर्धामा रहेको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताउनुभयो। प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुने छ ।
इलिट पुरुषतर्फको विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार र तेश्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ भने महिलातर्फ सोही इभेण्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तेश्रो स्थान हासिल गर्ने प्रतियोगितालाई भने १५ हजार प्रदान गरिने भएको छ । खेलकुद र पर्यटनलाई टेवा पुर्याउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताउनुभयो।
सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैयाँ लगानी भइसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी हुने गुरुङको भनाइ छ।
प्रतियोगिता अन्तर्गत बिहीबार र शुक्रबार अभ्यास खेल हुनेछ भने ९ गते प्रतियोगिताको फाइनल चरण हुनेछ । प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाईमा रहेको आर्वा–बिजय डाँडामा सुरु भएको कारोबार अनलाइनले जनाएको छ।