नेपाली

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय: करिब ८० हजार पर्यटकको भ्रमण

criPublished: 2023-11-24 16:49:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। दसैंतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रह्यो। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चार जना विदेशी पर्यटकले भ्रमण गरेका हुन्।

घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ। विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार दसैं, तिहार, छठ पर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो। कात्तिकमा मुस्ताङमा १३ हजार नौ सय एक सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए।

छ हजार चार सय आठ मोटरसाइकल, छ हजार दुई सय ८९ कार-जिप तथा सात सय ५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए।

बेनी-जोमसोम सडकमार्गका अलावा पोखरा-जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए। मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको बताउनुभयो।

शरद याम घुमघामका लागि उपयुक्त मानिन्छ। छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल लगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ।रासस।

Share this story on

Messenger Pinterest LinkedIn