भैरहवामा पुनः उडान थाल्दै जजिरा
व्यावसायिक कारण देखाउँदै गत जेठबाट उडान रोकेको कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान गर्ने भएको छ। गत वर्ष जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएकै दिनदेखि गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको जजिराले कात्तिक १५ गतेदेखि उडान गर्ने तयारी गरेको छ। प्रतिकूल मौसमसहित आन्तरिक कारण देखाउँदै गत पुस ६ देखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ देखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ देखि उडान रोकेको गोरखापत्र अनलाइनले लेखेको छ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार जजिराले हिउँदे उडान तालिका अनुसार नोभेम्बर पहिलो तारिख (कात्तिक १५) देखि उडान गर्न चाहेको बताउनुभयो। उहाँले भन्नुभयो, “आन्तरिक कारण देखाउँदै हाललाई उडान बन्द गरेको जजिराले पहिलेकै उडान तालिका अनुसार पुनः उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृतका लागि पत्र पठाएको सुन्नमा आएको आएको छ। स्वीकृतिको प्रक्रिया पूरा भएपछि पुनः उडान गर्ने अपेक्षा छ।”
यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुवेत भैरहवा उडान गर्दै आएको थियो। जजिरालाई हवाई रुटको समस्या नरहेको बताउँदै महाप्रबन्धक पाण्डेले कुवेत–काठमाडौँ–कुवेत हवाई रुटभन्दा कुवेत–भैरहवा–कुवेत हवाई रुट झन्डै दुई घण्टा छोटो रहेकोसमेत बताउनुभयो।