नेपाली

डोल्पामा पत्ता लागेका नयाँ ताल प्रमाणित गर्दै प्रदेश सरकार

criPublished: 2023-09-19 15:40:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा पछिल्लो समय पत्ता लागेका नयाँ तालको प्रमाणित गर्ने भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले नयाँ तालतलैया भेटिनु खुसीको कुरा भएको बताउनुभएको छ। स्थानीय सरकारसँग समन्वय गरेर प्राविधिक टोलीले नयाँ तालको नापजाँच गर्नेगरी योजना बनाएको उहाँको भनाइ छ। नयाँ तालको खोजी र भेटिएका तालको संरक्षण गरिने बिसीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

उहाँले भन्नुभयो, ‘‘पर्यटकीय क्षेत्रहरूको सम्भावनाको खोजीमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नेछ।’’ आवश्यक बजेटको व्यवस्था गरेर ताल तलैया संरक्षणका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो। डोल्पामा नयाँ ताल भेटिने क्रम जारी रहेको भन्नुुहुँदै उहाँले प्रविधिको विकाससँगै नयाँ कुरा बाहिर आउने गरेको बताउनुभयो। पहिल्लो केही दिनमा डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकामा नयाँ ताल भेटिएकाले त्यसको प्राविधिक नापजाँच गरिने उहाँको भनाइ छ। तालको नापजाँचका लागि राष्ट्रिय ताल संरक्षण विकास समिति र जल तथा मौसमविज्ञान विभागमा अनुरोध गरिनेछ।

डोल्पाका स्थानीय सरकारले ताल खोजीलाई तीव्रता दिएका छन्। पर्यटन प्रवर्द्धन र आन्तरिक आयस्रोत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका नयाँ ताल र प्राकृतिक सम्पदाको खोजीमा लागेका हुन्।

डोल्पो बुद्ध गाउँपालिकाले हालैमात्र नयाँ ताल फेला पारेको हो। पाँच हजार एक सय ९० मिटर उचाइमा नयाँ ताल फेला परेको गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले जानकारी दिनुभयो।

समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिका वडा नं. ६ फालगाउँको हिमालमा नयाँ तालको रुपमा स्थानीयले कुन्ख्येन फालक ताल पहिचान गरेका हुन्। स्थानीयले नै तालको नामकरण गरेका छन्। पालिकाभित्र अझै चारवटा ताल संरक्षणको अभावमा रहेको प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापाले बताउनुभयो। विशेष खोज र अनुसन्धानको अभावमा धेरै ताल भए पनि पहिचान र संरक्षण हुन नसकेको उहाँको भनाइ छ।

आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले डोल्पो बुद्धले हिमतालको खोजी गर्ने योजना अघि सारेको थियो। पर्यटकीय सम्पदाहरुको खोजी, पहिचान र प्रचारमार्फत पर्यटक भित्र्याउने र पालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनुभयो। पहिचान हुन नसक्दा थुप्रै पर्यटकीय सम्पदाहरु ओझेलमा परेको उहाँ बताउनुहुन्छ।

डोल्पाकै छार्काताङसोङ गाउँपालिकामा पनि नयाँ ताल भेटिएको छ। सबैभन्दा अग्लो स्थानमा भेटिएको भनिएको नयाँ ताल छार्कताङसोङ गाउँपालिका वडा नं. १ स्थित उच्च मानव बसोवास भएको छार्कभोटमा युवाहरूले पहिचान गरेका हुन्। एकपछि अर्को गरेर ताल फेला पर्दै जाँदा डोल्पाताल तलैयाहरुको भण्डार मानिएको छ। छार्कभोटमा युवाहरूले चार दिन लगाएर तालको सर्वेक्षण गरेका थिए। सर्वेक्षणको क्रममा पङभोर नामले चिनिने तालको उचाइ हालसम्मकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ।

छार्काताङसोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले विशेष संरक्षणको अभावमा आठ÷नौ वटा ताल पालिकामा रहेको बताउनुभयो। एक महिनाअघि जीपीएस ट्रयाकिङ्ले प्रमाणित गरेर पङभोर ताल पहिचान भएको उहाँले जानकारी दिनुभयो। पङभोर तालको उचाई समुद्र सतहदेखि पाँच हजार पाँच सय ५० दशमलब ९ मिटरको उचाइमा रहेको बताइएको छ।

यसअघि नै डोल्पामा रहेको शे–फोक्सुण्डो तालले विश्व पहिचान कमाएको छ। डोल्पामा फेरि नयाँ ताल भेटिने क्रम जारी छ। शे–फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा पर्ने फोक्सुण्डो तालमा पर्यटकको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ। गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ भएका तालको संरक्षण र नयाँ तालको खोजीमा पालिका लागि परेको बताउनुहुन्छ। उहाँका अनुसार नामकरण हुन बाँकी रहेका ४÷५ वटा ताल छन्। सङ्घीय सरकारले यसको खोज अनुसन्धान र संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ। जति धेरै ताल भेटिए पनि उच्च स्थानमा रहेको भन्ने प्रमाणित भने सरकारको आधिकारिक निकायले गर्नुपर्ने भएकोले तत्काल यस्ता तालको मापन तथा सर्वेक्षण गरी आधिकारिकता दिन सरकार गम्भीर हुनुपर्ने गाउँपालिकाले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn