नेपाली

पीपीएको दर बढाउन ऊर्जामन्त्रीलाई चेम्बरको आग्रह

criPublished: 2023-01-25 16:00:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल चेम्बर अफ कमर्सको एक पदाधिकारी टोलीले उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनसँग भेटवार्ता गरी पीपीए (ऊर्जा खरिद सम्झौता)को दर बढाउन आग्रह गरेको छ। सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्माण सम्पन्न भइसकेका आयोजनाको पीपीए दर २ रुपैयाँ ९२ पैसा देखि ३ रुपैयाँ ९२ पैसासम्म मात्रै रहँदा लगानीकर्ता मारमा परेकाले पीपीएको नयाँ दरअनुसार समायोजन गर्न आग्रह गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। जलविद्युत् आयोजनाको निर्माण लागत दिन प्रतिदिन बढ्दै गएको तथा प्रतिमेगावट उत्पादन लागत समेत बढेकाले पीपीए दर बढाउनु जरुरी भइसकेको मल्लले बताउनुभयो। त्यस्तै पीपीएको हाल कायम ३५ वर्षको अवधिलाई बढाएर ५० वर्ष पुर्‍याउनुपर्ने सुझाव चेम्बरले दिएको छ।

साथै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन समेत माग गरेको छ। स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नुपर्नेमा मल्लले जोड दिनुभयो। उहाँले विद्युत् आयोजना निर्माणमा हुने नीतिगत झन्झट अन्त्य एवम् प्रसारण लाइन निर्माणलाई पनि तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो। रेमिट्यान्सको पैसालाई विद्युत्‌मा लगानीका लागि प्रोत्साहन गर्ने गरी नीति बनाउन सुझाव दिनुभयो।

भेटमा ऊर्जा मन्त्री लिङदेनले जलविद्युत् विकासमा सर्वसाधरणको लगानी प्रवर्द्धन गर्न आफू प्रयासरत रहेको बताउनुभयो। दूधकोसी, माथिल्लो अरुण, बुढी गण्डकीजस्ता आयोजना स्वदेशी लगानीबाटै बनाउनका लागि सरकारले योजना अघि सारेको मन्त्री लिङदेनको भनाइ छ। नेपालको विद्युत् निर्यातका लागि भारत, बंगलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङदेनले दाबी गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn