नेपाली

पर्वत जिल्लाको एउटा नयाँ जलविद्युत आयोजनामा परीक्षण उत्पादन सुरु

criPublished: 2022-12-06 17:36:22
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले २०७१ को मंसिरमा सुरु गरेको आयोजना ८ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब ४ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट सोमबारदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको अनलाइनखबरले जनाएको छ।

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना ५ वर्षपछि धकेलिएको हो। आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ । १४ दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ।

आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताउनुभयो। सुरुवातमा २ अर्ब ८० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । २०७१ सालमा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गर्नुभएको थियो। तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मंसिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटकपटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो। त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ।

Share this story on

Messenger Pinterest LinkedIn