नेपाली

खुम्बुमा घट्यो पर्यटकको चहलपहल

CRIPublished: 2022-12-03 16:35:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिसो बढ्दै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक धमाधम फर्कन थालेको छन्। विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाल अवलोकन गर्न आएका पर्यटक फर्कन थालेका हुन्। यहाँका पदमार्गमा विदेशी पर्यटकको आवतजावत कम हुन थालेकाले खुम्बु क्षेत्र प्रायः सुनसानजस्तै बनेको गोरखापत्र अनलाइनले लेखेको छ। हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेन्जिङ–हिलारी विमानस्थलमा काठमाडौँ फर्कने पर्यटकको सङ्ख्या बढिरहेको नेपाल नागरिक उड्डयन कार्यालय, लुक्लाले जनाएको छ।

सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याइ हुने गरेकामा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, जोरसल्ले प्रवेशद्वारका कर्मचारीलाई अहिले फुर्सद् मिल्न थालेको छ। पद मार्ग र हवाई मार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत रहेको छ।

टे«किङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायी सबै फर्किएका छन्। कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिरको दोस्रो सातासम्म भने पर्यटकको हल्का आवतजावत हुने गर्छ। दशैँअघिदेखि सुरु भएको सिजनमा दशैँ तथा तिहार नमानी पर्यटक भरियाका रूपमा खुम्बु पुगेकासमेत फर्कंदै छन्।

पथप्रदर्शक नवराज तामाङले भन्नुभयो, “पर्यटकको हवाई उडान रद्द हुँदा सबैभन्दा बढी पर्यटक भरिया मारमा पर्ने गर्थे। मौसम खराबी भएमा उनीहरू यहाँको महँगो खाना खाएर बस्न बाध्य हुन्छन् तर अहिले मौसम राम्रो भएकाले सहज भयो।” त्यस्तै होटल व्यवसायी पनि अफ सिजनमा जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा झर्न थालेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn