नेपाली

वैदेशिक रोजगारीमा रहेकालाई पहिलो पटक खुल्यो आईपीओ

CRIPublished: 2022-12-01 17:14:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ। कालिन्चोक दर्शनले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकालाई पहिलो पटक १ लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

विदेशमा रहेका नेपालीले 'मेरो सेयर' अनलाइन प्रणालीबाट आईपीओका लागि आवेदन दिन सक्नेछन्। अंकित मूल्य प्रतिकित्ता १ सयका दरले न्यूनतम १० र अधिकतम १० हजार ८ सय कित्तासम्मका लागि उनीहरुले आवेदन दिन सक्नेछन्। मंसिर २८ गतेसम्म आवेदन दिन पाउने म्याद तोकिएको छ। वैदेशिक रोजगारमा गएकाले रेमिट्यान्स बचत खातामार्फत मात्र आईपीओको रकम भुक्तानी गर्नुपर्नेछ। त्यस्तै रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था छ।

यसरी वैदेशिक रोजगारमा गएकालाई छुट्याइएको आईपीओ पूरा बिक्री नभएमा सो आईपीओ समेत सर्वसाधारणलाई बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ। स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई आईपीओको कोटा छुट्याउने व्यवस्था गरेको हो। सर्वसाधारणका लागि छुट्याइएको आईपीओबाट १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकालाई आरक्षण गरिन थालेको हो।

अनलाइन प्रणाली 'मेरो सेयर' खुलिसकेपछि डिम्याट खाता नम्बर भएको संस्थाको नाम छनोट गर्ने, 'युजर' नाम र 'पासवर्ड' राखेर लगिन गर्न सकिन्छ। त्यसपछि खुलेको पेजमा बायाँतिर रहेको 'माई आस्बा'मा क्लिक गरिसकेपछि कालिन्चोक दर्शनमा अप्लाई गर्नुपर्छ, एउटा अनलाइन फारम खुल्छ। खुलेको फारममा रेमिट्यान्स खाता रहेको बैंक नाम, बैंक खाता नम्बर, सीआरएन नम्बर, भर्न चाहेको सेयर संख्या लगायत विवरण भरी 'सबमिट' गरेपछि आफ्नो ४ अंकको गोप्य नम्बर राखेर कन्फर्म गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn