नेपाली

पोखरा विमानस्थल संचालनमा आउने भएपछि निजी हवाई कम्पनीहरू अन्तर्राष्ट्रिय उडानका लागि तयारी गर्दै

criPublished: 2022-11-24 15:57:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आगामी जनवरी एकदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्ने तयारी हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गरिरहेको छ। त्यही अनुसार अहिले क्यालिब्रेसन फ्लाइट (यान्त्रीक परीक्षण) भईरहेको छ। क्यालिब्रेसन फ्लाइट सकिएर परीक्षण उडान भएपछि यो विमानस्थल संचालनमा आउनेछ। विमानस्थल संचालनमा आउने तयारीसँगै निजी हवाई कम्पनीले पोखराको यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका छन्। निजी हवाई कम्पनीले त्यसका लागि आन्तरिक तयारी गरिरहेको बताएका छन्। चार्टर र मेडिकल फ्लाईट गर्न सकिने भनेर निजी कम्पनीले अहिले तयारी थालेका छन्।

बुद्ध एयरले पोखरादेखि भारतको वनारससम्म सिधा उडान गर्ने घोषणा गरिसकेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रुपमा बुद्धले पोखरा–वनारस–पोखरा उडान गर्न थालेको बताएको छ। सातामा तीनदिन (आइतबार, मंगलबार र विहीबार) उडान गर्ने बुद्धको योजना छ। त्यसबाहेक एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारत सरकारसँग पहल गरिरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा उडान गर्ने पनि बुद्धले बताएको छ। पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुइ र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडान गर्ने तयारी पनि बुद्धले गरेको छ।

त्यस्तै तयारी अर्को निजी हवाई कम्पनी श्री एयरलाइन्सले पनि पोखरालाई भारत र बंगलादेशसम्म पनि जोड्नेगरि उडान थाल्ने गृहकार्य गरिरहेको नागरिकन्यूज डटकमले जनाएको छ। एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएलगत्तै पोखरादेखि भारतका कुनैपनि सहरसम्म ‘मेडिकल फ्लाइट’ गर्न सकिने गरि तयारी गरेको जानकारी दिनुभयो। अहिले श्री ले काठमाडौंबाट भारतका विभिन्न सहरमा मेडिकल फ्लाइट गरिरहेको छ। श्रीको सेवा सुरु हुनुअघि बिरामीलाई काठमाडौंसम्म भारतबाट एयर एम्बुलेन्स झिकाएर उपचारका लागि लैजानु परेको थियो। तर, श्रीको सेवापछि भारतबाट एयर एम्बुलेन्स झिकाउन छाडिएको छ।

उहाँले तत्कालका लागि मेडिकल फ्लाईट सुरु गर्न कुनै बाधा अवरोध नभएको बताउँदै मेडिकल फ्लाईटमा स्वास्थ्यकर्मी सहितको टोली हुने जानकारी दिनुभयो। ‘भारतबाट एयर एम्बुलेन्स झिकाएर बिरामीलाई लैजाँदा बढी समय लाग्छ। तर, अब हामीले नै पोखराबाट सेवा दिँदा छिटोछरितो हुन्छ,’ उहाँले भन्नुभयो।

त्यसबाहेक सिजनका बेला पोखरादेखि भारतका सहर र बंगलादेशको ढाकासम्म पनि चार्टर फ्लाईट गर्न सकिने मानन्धरले जानकारी दिनुभयो। ‘नियमित उडानका लागि अहिले हवाई रुटको समस्या छ। रुटको समस्या समाधान हुनासाथ भारतका सहरसम्म सिधा उडान सुरु भइहाल्छ। तर, चार्टर फ्लाईटका लागि भने बाटो खुल्नेछ,’ मानन्धरले भन्नुभयो, ‘पर्यटकीय सिजनमा पोखराबाटै भारत र बंगलादेशसम्मका कुनैपनि सहरसम्म चार्टर फ्लाइट गराउन सकिन्छ। तर,त्यसका लागि पर्यटन व्यवसायीले पनि चाँसो दिनुपर्छ, व्यवसायीले नै प्याकेज बनाउनुपर्छ।’

श्री एरलाइन्सले भारतका सहरसम्म ८० सिट क्षमताका जहाजबाट सेवा दिन सक्ने उहाँको भनाइ छ। तर, पोखराका पर्यटन व्यवसायीले पर्यटक ल्याउने र पठाउने गरि प्याकेज बनाउने हो भने चार्टर फ्लाइटको कारण पर्यटनमा लाभ पुग्ने उहाँले सुनाउनुभयो। उहाँका अनुसार पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि कम्तिमा अन्तर्राष्ट्रिय उडानको बाटो सहज भएको छ। ‘चार्टर होस वा मेडिल फ्लाईट कुनै न कुनै रुपमा पोखराले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट लाभ पाउन सक्छ,’ उहाँले भन्नुभयो। अहिले श्रीले पोखरा–काठमाडौं रुटमा दिनमा दुइवटा उडान गरिरहेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा–काठमाडौं उडान पनि थपिनेछ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई सेवा सुरु भएमा त्यसले पर्यटन प्रवद्र्धनमा सघाउने पर्यटन व्यवसायीको अपेक्षा छ। पोखरा पर्यटन परिषद (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराले कुनै पनि रुपमा अन्तर्राष्ट्रिय विमानस्थलबाट लाभ पाउने बताउनुभयो। उहाँका अनुसार विमानस्थल संचालनमा आएलगत्तै निजी हवाई कम्पनीले उडान सुरु गर्ने घोषणाले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ। ‘कम्तिमा भारतीय सहरका पर्यटकलाई पोखरा ल्याउन र पठाउन त सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘भारतीय पर्यटक पोखरा भित्र्याउनका लागि विमानस्थलले तत्कालै ढोका खोल्नेछ।’

अहिले पोखराको पर्यटन क्षेत्र आन्तरिक र भारतीय पर्यटकको भरमा टिकेको छ। कोरोना भाइरस संक्रमणले गर्दा अरु तेश्रो मुलुकका विदेशी पर्यटक नेपाल आउन नसकेको अवस्थामा भारतीय पर्यटनमा निर्भर रहेको पोखराको पर्यटन क्षेत्रले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट थप लाभ लिन सक्ने श्रेष्ठले बताउनुभयो।

‘चार्टर होस् वा मेडिकल फ्लाइट कुनै पनि रुपमा पोखराले भारतसम्म सिधा उडानमार्फत जोडिन सक्ने भएकोले लाभ पुग्छ,’ उहाँले भन्नुभयो, ‘अझ बंगलादेशसम्म उडान थाल्ने हो भने पर्यटनलाई थप सहज हुनेछ। अहिले हवाई कम्पनीले पोखरासँग जोड्ने गरि भारतीय सहरका लागि उडान योजना बनाउँदै गर्दा पर्यटनमा सहज हुने अनुमान छ।’

Share this story on

Messenger Pinterest LinkedIn