नेपाली

नेपालमा हाल कोरोनाबाट निधन हुनेमा ७६ प्रतिशत खोप नलगाउने

criPublished: 2022-08-06 16:49:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले साउन १ गतेदेखि २० गतेसमम १८ जनाको मृत्यु भएकोमा १३ जना अर्थात ७६ प्रतिशतले खोप नलाएको जानकारी दिनुभयो।

स्वास्थ्य पत्रकार मञ्च नेपालले विश्व स्वास्थ्य सङ्गठन नेपालको सहयोगमा आयोजना गरेको कोभिड १९ महामारी तथा मङ्कीपक्सको वर्तमान अवस्था र तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. गेलालले सो कुराको जानकारी दिनुभएको हो। मृत्यु भएका दुईजनाले दोस्रो डोज खोप लगाएको डा. गेलालले बताउनुभयो । उहाँका अनुसार मृत्युभएका मध्ये १२ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भएको पाइएको छ।

मृत्यु हुनेमा २१ देखि ८५ वर्ष उमेरका छन् । जसमा २१ वर्षका एक जना र अन्य ४९ वर्ष माथिका रहेको मन्त्रालयले जनाएको छ । विभिन्न नाकाबाट नेपाल भित्रने मानिसमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“पछिल्लो ९० दिनमा नेपालमा प्रवेश गर्ने विभिन्न नाकामा रहेका हेल्थ डेक्सले ८० हजार २९६ जनाको कोरोनाको परीक्षण गरेको थियो ।

परीक्षण गरिएकामध्ये एक हजार २५० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी, नाकाहरुमा १४ दिनमा १७ हजार १४१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४० जनामा कोरोना पुष्टि भएको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट र सीमा नाकाहरुमा स्क्रिनिङको दर र परीक्षण बढाउने कार्य अगाडि बढाएको उहाँले जानकारी दिनुभयो। गोरखापत्र।

Share this story on

Messenger Pinterest LinkedIn