नेपाली

भैरहवा-आबुधावीमा वीज एयरले माग्यो सातामा ३ उडान गर्ने

CRIPublished: 2022-07-29 16:59:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए) मा आगामी अक्टोबरबाट वीज एयरले उडानको तयारी गरेको छ। उक्त एयरले युएइको राजधानी आबुधावी-भैरहवा सिधा उडान गर्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले जानकारी दिनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको वीज सस्तो वायुसेवा कम्पनी भएको उहाँले बताउनुभयो। वीज एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आबुधावी-भैरहवा गन्तव्यमा साताको तीन उडान गर्न अनुमति मागेको छ। 'वीज एयरले अक्टोबर ३० बाट सातामा तीन उडान गर्न प्राधिकरणसँग अनुमति मागेको जानकारी आएको छ,' प्रवक्ता शाहले भन्नुभयो, 'अहिलेसम्म हेर्दा वीज एयरले गौतमबुद्ध विमानस्थलमा जजिरापछि दोस्रो व्यावसायिक उडान गर्ने देखिन्छ।'

उहाँका अनुसार वीज एयरले एयरबसको ३२१ निओ सिरिजको विमान सञ्चालनमा ल्याउने योजना बनाएको छ। एक सय ९० सिट क्षमताको यो जहाजले नेपालमा पहिलोपटक उडान गर्न लागेको हो। भैरहवा विमानस्थलबाट पछिल्लो समय श्रम गन्तव्यका मुलुकमा जानेहरू बढेका छन्। वीज एयरले भैरहवा–आबुधावी नियमित उडान थालेसँगै युएई जानेका लागि सहज हुने उहाँ बताउनु हुन्छ।

आगामी सेप्टेम्बरबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने भनिएको एयर अरेबियाको भने मिति तय भइसकेको छैन। विमानस्थल सञ्चालनमा आएसँगै उडानका लागि एयर अरेबियाले चासो देखाएको थियो। 'एयर अरेबियाले हाल नेपालमा उडान गरिरहेकाले भैरहवा उडानका लागि अनुमति पाउन धेरै समय लाग्दैन,' प्रवक्ता शाहले भन्नुभयो, 'अहिलेसम्म पाएको जानकारीअनुसार एयर अरेबियाले सेप्टेम्बरबाटै उडान गर्ने भनिएको छ।'

सेप्टेम्बरमा दसैं सुरू हुने भएकाले यात्रु संख्या बढ्छ। त्यसैले सोही समय एयर अरेबिया भैरहवा आउन सक्ने बुझिएको उहाँले बताउनुभयो। सरकारले गौतमबुद्ध नयाँ विमानस्थल भएकाले आकर्षण बढाउन यहाँ उडान सुरू गर्ने कम्पनीलाई सेवा शुल्कमा छुट दिएको छ। अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायक सेवा र सुरक्षा जाँच शुल्कमा छुट दिइएको छ। यो विमानस्थलमा उडान सुरू गर्ने कम्पनीले एक वर्षसम्म यी छुट पाउने छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn