नेपाली

लक्ष्यभन्दा बढी आन्तरिक राजस्व सङ्कलन

CRIPublished: 2022-07-28 16:30:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा राजस्वको लक्ष्य पूरा गरेको छ। विभागले असार मसान्तका लागि तोकेको लक्ष्यभन्दा एक अर्ब रुपियाँ बढी राजस्व सङ्कलन गरेको गोरखापत्र अनलाइनले लेखेको छ। विभागका अनुसार उक्त महिना ७२ अर्ब ९६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ। विभागले असारमा ७१ अर्ब ७४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो।

असारमा उठेको राजस्व वर्षभरको लक्ष्यको तुलनामा १३.५६ प्रतिशत हुन आउँछ। आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि यो महिना सबैभन्दा धेरै राजस्व उठ्ने गर्छ।

विभागका अनुसार असारमा आयकर र मूल्य अभिवृद्धि करबाहेक अन्य शीर्षकको लक्ष्य पूरा भएको छ। असारमा ४९ अर्ब ३३ करोड रुपियाँ आयकर सङ्कलन गर्ने लक्ष्य रहेकामा ४६ अर्ब ९९ करोड रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ। यो असारका लागि तोकिएको आयकरको लक्ष्यको तुलनामा ९५.२७ प्रतिशत हुन आउँछ। त्यस्तै असारमा विभागले १५ अर्ब १० करोड रुपियाँ मूल्य अभिवृद्धि कर उठाएको छ। यो पनि तोकिएको लक्ष्यभन्दा कम हो। विभागले असारमा १५ अर्ब ३५ करोड रुपियाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य राखेको थियो।

यी दुई शीर्षकबाहेक विभागको क्षेत्राधिकारभित्रका अन्य सबै शीर्षकका कर लक्ष्यभन्दा बढी नै उठेको छ। विभागका अनुसार असारमा मात्रै ६४ करोड ४१ लाख रुपियाँ घरभाडा कर उठेको छ। जब कि विभागले ४६ करोड ७९ लाख रुपियाँ घरभाडा कर असारमा उठाउने लक्ष्य राखेको थियो। असारमा ६८ करोड १४ लाख रुपियाँ ब्याजकर उठाउने लक्ष्य राखेको विभागले करिब दोब्बर अर्थात् एक अर्ब ३४ करोड रुपियाँ ब्याजकर उठाएको छ।

असारमा आन्तरिकतर्फको अन्तःशुल्क पनि लक्ष्यभन्दा बढी नै उठेको छ। पाँच अर्ब ६१ करोड रुपियाँ अन्तःशुल्क उठाउने लक्ष्यमा विभागले आठ अर्ब २० करोड रुपियाँ उठाएको छ। त्यस्तै स्वास्थ्य सेवातर्फ समीक्षा अवधिमा विभागले ४६ करोड ८१ लाख रुपियाँ कर उठाएको छ। जब कि विभागले उक्त महिना २३ करोड ७५ लाख रुपियाँ स्वास्थ्य सेवा कर उठाउने लक्ष्य राखेको थियो।

विभागले असारमा शिक्षा कर पनि लक्ष्यभन्दा अधिक नै उठाएको छ। पाँच करोड ५५ लाख रुपियाँ शिक्षा कर उठाउने लक्ष्य रहेकामा विभागले १९ करोड छ लाख रुपियाँ कर सङ्कलन गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn