नेपाली

गोरखा संग्रहालय घुम्न आउने पर्यटकको संख्या बढ्दै

CRIPublished: 2022-07-26 17:22:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझ्न र हेर्न आउने पर्यटकको संख्या बर्सेनि बढ्दै गएको छ। नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणको समयमा प्रयोग भएका विभिन्न सामग्री हेर्न आउनेको संख्या बढ्दै गएको गोरखा दरबार संग्रहालय गोरखाले जनाएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

आर्थिक वर्ष २०७८/७९ मा ७६ हजारभन्दा बढीले संग्रहालयको अवलोकन गरेको यस संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार भदौमा ६ सय ९९ जना, असोजमा तीन हजार सातजना, कात्तिकमा सात हजार आठ सय ९१ जना, मंसिरमा १४ हजार नौ सय ५२ जना र पुसमा ११ हजार पाँच सय ७३ जनाले संग्रहालय अवलोकन गरेका थिए।

यसैगरी, माघमा तीन हजार नौ सय ९४ जना, फागुनमा ६ हजार चार सय ३३ जना, चैतमा आठ हजार ६ सय ३१ जना, वैशाखमा आठ हजार एक सय तीन जना, जेठमा ६ हजार आठ सय तीनजना र असारमा चार हजार दुई सय ४२ जनाले संग्रहालयको अवलोकन गरेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिनुभयो।

जसमध्ये देशभरका विभिन्न विद्यालयबाट आएका २६ हजार एक सय ५२ जना विद्यार्थीले संग्रहालय अवलोकन गरेका थिए। उनीहरूबाट दुई लाख ६१ हजार पाँच सय २० रुपैयाँ राजस्व संकलन भएको छ।

४९ हजार आठ सयजना नेपालीबाट १२ लाख ४५ हजार राजस्व संकलन भएको संग्रहालयले जनाएको छ। त्यस्तै, सार्क राष्ट्रका ५९ जनाबाट दुई हजार नौ सय ५० रुपैयाँ र तीन सय १७ जना विदेशी नागरिकबाट ३१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिनुभयो।

त्यस्तै, संग्रहालयभित्र भिडियो क्यामेरा प्रयोग गरी भिडियो र फोटो खिचेबापत १३ जना नेपालीले दुई सयका दरले २६ हजार, सार्क राष्ट्रका २४ जनाबाट दुई सयका दरले ४८ हजार र संग्रहालय परिसरभित्र विभिन्न म्युजिक भिडियो र फिल्म छायांकन गरेबापत एक हजार रुपैयाँका दरले पाँचजनाबाट पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ। संग्रहालयवरिपरि पसलहरू भाडामा दिएबापत एक लाख ६ हजार पाँच सय रुपैयाँ संकलन भएको छ। कुल १६ लाख ६८ हजार पाँच सय ७० रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो।

आ.व. ०७६/७७ मा ७५ हजार पाँच सय ४८ जनाले संग्रहालयको अवलोकन गरेका थिए। त्यो वर्ष १५ लाख ७८ हजार आठ सय १५ रुपैयाँ राजस्व संकलन भएको थियो। आ.व. २०७७/७८ मा भने कोभिड महामारीका कारण संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ह्वात्तै घटेको थियो। त्यो वर्ष ३३ हजार दुईजनाले मात्र संग्रहालय अवलोकन गरेका थिए। उनीहरूबाट आठ लाख ६० हजार ८५ रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

अहिले भने कोभिड महामारी कम भएसँगै संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको संग्रहालयले जनाएको छ। कात्तिकदेखि मंसिर, पुस र माघसम्म शैक्षिक भ्रमणको सिजन भएकाले आन्तरिक पर्यटकको संख्या धेरै नै बढ्ने गरेको छ।

नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरू, शाहवंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन जातिको वेशभूषा, विभिन्न बाजाहरूलगायतका इतिहासका धेरै महत्वपूर्ण कुराहरू संग्रहालयभित्र राखिएका छन्।

गोरखा संग्रहालय हप्ताको सातै दिन खुला गरिएको छ। गोरखा संग्रहालय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै ०७८ भदौ २२ गतेबाट हप्ताको सातै दिन खुला गरिएको हो। गोरखा घुम्न आएका पर्यटकहरूले नेपालको इतिहास थाहा पाऊन् र यहाँको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले हप्ताको सातै दिन खुला गरिएको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए। संग्रहालयमा हाल २१ जना कर्मचारी कार्यरत रहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn