पर्यटकको बसाइ लम्ब्याउन सहकार्य
पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन आवश्यक रहेको पर्यटन व्यवसायीले बताएका छन्। कोरोना महामारीले थला परेको पोखराको पर्यटन क्षेत्र तङ्ग्रिन थालेको अवस्थामा पोखराको नयाँनयाँ पर्यटकीय गन्तव्य पहिचान र विकास गर्नुपर्ने उहाँहरुको जोड छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागत गर्न होटल सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँहरूले महानगर र सङ्घको सहकार्य र साझेदारीमा पोखरामा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने बताउनुभयो । महानगर प्रमुख धनराज आचार्यले यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि थोरै बजेट विनियोजन हुँदै आएकामा चालू आर्थिक वर्षको बजेटमा ५८ करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।
सडक विस्तारलगायतका कारणले पोखरा र वरपरका पर्यटकीय गन्तव्य मासिँदै गएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नयाँ गन्तव्य खोजी गर्नुपर्छ र पोखरा भ्रमणमा आउने पर्यटकको बसाइ दुई दिनबाट बढाएर पाँच दिन बनाउनुपर्छ।” यसका लागि महानगर र व्यवसायी मिलेर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । लेकसाइडलगायत सिङ्गो पोखराको सुरक्षा, पार्किङ व्यवस्थापन, ट्याक्सीमा मिटर जडान, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनको विषयमा समेत महानगर सचेत रहेको प्रमुख आचार्यले जानकारी दिनुभयो । पोखरा महानगरभित्र सानो रिङरोड छुट्याएर त्यसको सौन्दर्यीकरण गर्ने तथा ट्राफिक बत्ती र सीसीटीभी क्यामरा व्यवस्थाका लागिसमेत महानगरले काम अगाडि बढाउने उहाँले जानकारी दिनुभयो।
सङ्घ अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत आन्तरिक पर्यटक रहेको जानकारी दिनुभयो। उहाँले कोभिड–१९ का कारण पर्यटन क्षेत्रका हजारौं मजदुर र व्यवसायी विस्थापित भएको बताउनुभयो।
पछिल्लो समय पोखरा आउने पर्यटक घटे पनि आगामी सेप्टेम्बर महिनादेखि पर्यटक आगमन बढ्ने आशा उहाँले व्यक्त गर्नुभयो । सुवेदीले पोखरामा नयाँ गन्तव्य, पर्यटक सङ्ख्या र उनीहरूको बसाइ अवधि बढाउन सङ्घ महानगरसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।