नेपाली

पहिलोपटक काठमाडौं छिर्ने नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’राखिँदै

criPublished: 2022-07-18 15:30:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ। उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ ।

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “काठमाडौँ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?” उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने गोरखापत्र अनलाइनले जनाएको छ । मेसिनको करिब रु. दुई करोड ५० लाख पर्ने जनाइएको छ ।

उहाँका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ।

नगरप्रमुख गिरीले भन्नुभयो, “यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई फाइदा पु¥याउँछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ ।”

यसैबीच उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ । पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो । यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ। फोहोरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “उपत्यका मेयर फोरमको बैठकको आतिथ्य चन्द्रागिरिले गर्नेछ । बैठक राख्न मैले समन्वय गरिराखेको छु । छिट्टै फोरमको बैठक हुन्छ। त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु ।”

काठमाडौँ महानगरपालिकाले नागढुङ्गामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ। कलङ्की–नागढुङ्गा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहोर राख्न ‘डस्टबिन’राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn