नेपाली

नेपालमा फोरजीका प्रयोगकर्ता एक वर्षमै एक करोड थपिए

criPublished: 2022-06-28 18:14:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा फोरजी सार्वजनिक भएको पाँचौँ वर्षमा मात्रै यसका प्रयोगकर्ताको सङ्ख्या व्यापक बढेको छ। दूरसञ्चार सेवा प्रदायकले फोरजी पु-याउन गरेको लगानी र नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०२२ भित्र देशैभर यो प्रविधि पु-याउन दिएको समयसीमाको प्रभाव यतिबेला फोरजीमा देखिन थालेको गोरखापत्र अनलाइनले लेखेको छ।

नियामकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ चैतसम्म देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाख नाघेको छ, जुन २०७७ चैतको तुलनामा करिब एक करोडले बढी हो। त्यतिबेला देशभर फोरजी प्रयोग गर्नेको सङ्ख्या ७८ लाख ७१ हजार थियो।

थ्रीजी प्रविधिको तुलनामा फोरजीलाई सेवा प्रदायकले दिएको प्राथमिकताले पनि फोरजी प्रयोगकर्ताको सङ्ख्या बढाउन सहयोग पुगेको हो, जसको परिणाम देशभर थ्रीजीको तुलनामा फोरजी प्रयोग गर्नेको सङ्ख्या निकै बढी छ। पछिल्लो तथ्याङ्कअनुसार थ्रीजी प्रयोगकर्ताको सङ्ख्या एक करोड १५ लाख छ। फोरजीको तुलनामा यो ५६ लाखले कम हो।

देशभर सबैभन्दा धेरै नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता रहेको नियामकको तथ्याङ्कले देखाउँछ। चैतसम्म टेलिकमको फोरजी एक करोड चार लाखले चलाइरहेका छन्। त्यस्तै एनसेलका ६५ लाख २२ हजार फोरजी प्रयोगकर्ता छन्। स्मार्ट टेलिकमका भने एक लाख ५९ हजार मात्र फोरजी प्रयोगकर्ता रहेको तथ्याङ्क छ। फोरजीको विस्तार बढिरहे पनि यसको गुणस्तरको सम्बन्धमा भने प्रयोगकर्ताको गुनासो कायमै छ।

अनलाइन गतिविधि बढ्दा त्यसको प्रत्यक्ष लाभ नेपालका इन्टरनेट सेवा प्रदायक (आईएसपी)लाई पुगेको छ। फिक्स्ड इन्टरनेटमा निजी सेवा प्रदायकले विस्तार गरेको बजारले पनि यसलाई पुष्टि गर्छ। गत एक वर्ष मात्रै निजी सेवा प्रदायकले करिब २० लाख ग्राहक थपेका छन्। २०७७ चैतसम्म ५५ लाख ६२ हजार ग्राहक रहेकामा निजी कम्पनीले २०७८ चैतसम्म ७४ लाख ९४ हजार ग्राहक पु-याएका छन्।

यसै अवधिमा नेपाल टेलिकमले साढे दुई लाख फिक्स्ड इन्टरनेट प्रयोगकर्ता थपेको छ। चैतसम्म टेलिकमका सात लाख ६१ हजार फिक्स्ड इन्टरनेट प्रयोगकर्ता रहेका छन्, जुन २०७७ चैतसम्म पाँच लाख १५ हजार मात्र थियो। फिक्स्ड इन्टरनेटमा एउटा इन्टरनेट जडान करिब पाँच जना ग्राहकले प्रयोग गर्ने हिसाबले प्रयोगकर्ताको तथ्याङ्क राखिन्छ।

मोबाइल, फिक्स्ड, एडीएसएल, वाईम्याक्स, लिज लाइनलगायत सबै किसिमका इन्टरनेट सुविधासहित गरी देशभर इन्टरनेटको पहुँच भने १२८.८६ प्रतिशत अर्थात् कुल जनसङ्ख्याभन्दा बढीमा पुगेको देखिन्छ। यसमध्ये ९८.४६ प्रतिशतले मोबाइल इन्टरनेट प्रयोग गर्छन् भने ३० प्रतिशतले फिक्स्ड इन्टरनेटको प्रयोग गर्ने पाइएको छ। मोबाइल र फिक्स्ड इन्टरनेट प्रयोग गर्ने एउटै प्रयोगकर्ताको समेत भिन्नै गणना हुने भएकाले इन्टरनेट पहुँच बढी देखिएको हो।

Share this story on

Messenger Pinterest LinkedIn