नेपाली

चिनियाँ कम्पनीले बनाएको ङादी जलविद्युत आयोजनाद्वारा उत्पादन सुरू

criPublished: 2022-06-26 19:49:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

निर्माण सुरु भएको ५ वर्षपछि ३० मेगावाटको ङादी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ । उत्तरी लमजुङको ङादी खोलामा निर्मित आयोजनाले अहिले २६ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तर व्यावसायिक उत्पादन थालेको जानकारी नेपाल विद्युत् प्राधिकरणले करिब डेढ महिनापछि मात्रै सार्वजनिक गरेको कान्तिपुर अनलाइनले जनाएको छ।

गत वैशाख ९ को बेलुका ८ बजेबाट परीक्षण उत्पादन थालिएकामा चलनचल्तीअनुसार त्यसको १५ दिन प्राधिकरणले निःशुल्क विद्युत् लिने गर्छ । त्यसपछि व्यावसायिक रूपमा उत्पादन हुन्छ । परीक्षण उत्पादनको २ महिनाअगावै विद्युत् उत्पादनको तयारीमा रहेको आयोजनाले प्रसारण लाइनमा समस्याका कारण उत्पादन गर्न सकेको थिएन ।

उत्पादित विद्युत् खेर जाने भएपछि हाललाई चिनियाँ कम्पनीले निर्माण गरेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रसारण लाइनमा ‘स्विचयाड’ गरिएको ङादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो। स्रोतका अनुसार प्राधिकरणसँग ‘कनेक्सन एग्रिमेन्ट’ भइसकेको अवस्थामा माथिल्लो मर्स्याङ्दी ‘ए’ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा २ महिना उत्पादनमा ढिलाइ भएको हो । बुटवल पावर कम्पनी (बीपीसी) को सहायक ङादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाले खुदी सबस्टेसनसम्मको ६ किलोमिटर प्रसारण लाइन आफैं बनाएको छ । चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजना निर्माण गरेको हो । कम्पनीले आयोजनाको अध्ययन, खरिद र निर्माण ईपीसी मोडलमा गरेको छ । कम्पनीसँग २०७३ माघ ३ मा ठेक्का सम्झौता भई चैत ३० बाट निर्माण सुरु भएको थियो । मर्स्याङ्दी गाउँपालिका–६ र ७ को बीचमा पर्ने ङादीखोलामा बनेको आयोजनामा बीपीसीको ९७.२२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को २.७८ प्रतिशत लगानी छ । करिब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिए पनि आयोजना निर्माणमा ब्याजसहित ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।

Share this story on

Messenger Pinterest LinkedIn