जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन
राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन् । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुनेछन्।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो। कार्यक्रमको संयोजन गरेका अनुसन्धानदाता टीकाराम भण्डारीले यस पटकको राष्ट्रिय सम्मेलन मधेश विशेष रहने जानकारी दिनुभयो।
विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानको क्षेत्रमा क्रियाशीलहरु सम्मेलनमा सहभागी छन्। सम्मेलनमा कृषि, औषधि, विज्ञान, प्रविधि, नवप्रवर्तन सम्बन्धी प्रस्तुति रहने छ। सम्मेलनमा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाहको पनि प्रस्तुती छ। शुक्रबारको दिन हाईस्कुलका सुनियर र जुनियर विधामा प्रतिस्पर्धात्मक प्रस्तुति रहने भण्डारीले बताउनुभयो। उत्कृष्ट ठहरिने जुनियर समूहले विदेशमा आयोजना हुने एसिया प्यासिफिक वैज्ञानिक सम्मेलनमा सहभागी हुन पाउने छन् । अनलाइनखबरका अनुसार यो सम्मेलन यस पटक रुसमा हुनुपर्ने भए पनि रुस–युक्रेन द्वन्द्वका कारण मिति निश्चित भइसकेको छैन।