नेपाली

कोभिडपछि तेस्रो बर्ष मानसरोवर यात्रा प्रभावित

criPublished: 2022-06-22 18:10:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालगञ्जका होटलहरुमा दुईवर्ष अघिसम्म यतिबेला भारतीय पर्यटकको भीडभाड हुन्थ्यो । होटलमा कोठा पाउन मुश्किल थियो । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका हुन्थे । नेपालगञ्ज हुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ हुन्थे । तर अहिले भने अवस्था फरक छ । ठूला होटलहरु सुनसान छन् । अघिल्ला दुईबर्ष कोभिड–१९ का कारण आवागमन अवरुद्ध भएपछि मानसरोवर यात्रा पनि प्रभावित भएको थियो । अहिले कोभिड संक्रमण न्यून भएर जनजीवन सामान्य भएपनि मानसरोवर यात्रामा जाने भारतीय पर्यटकहरु आएका छैनन् ।

पर्यटन ब्यवसायी केशव न्यौपानेका अनुसार चिनिया पक्षले कोभिड–१९ पछि प्रवेश अनुमति नदिएका कारण यसवर्ष पनि मानसरोवर यात्रा प्रभावित भएको जानकारी दिनुभयो। ‘चीनबाट भिसा नपाउने भएपछि भारतीय तिर्थयात्रीहरु आउनुभएको छैन। होटल सिद्धार्थ भ्यूका प्रबन्ध निर्देशक न्यौपानेले भन्नुभयो, ‘लगातार तेस्रो वर्ष पनि मान सरोवर यात्रा प्रभावित भएको छ । चीनबाट भिसा नपाउने भएपछि अबको दुई महिनाभित्रै हुम्लास्थित नेपाली सीमाक्षेत्र लिमी उपत्यकाबाटै मान सरोवर दर्शन गराइने भएको छ। त्यसका लागि पर्यटन ब्यवसायीहरुले आन्तरिक र बाह्य तयारी गरिरहेका छन्।’

मानसरोवर जानका लागि भारतीय तिर्थयात्रीले मुख्य रुपमा प्रयोग गर्ने नेपालगञ्ज विमानस्थल हो। निजी वायुसेवा कम्पनी सिता एयरका सूर्य भण्डारीले यसबर्ष अहिलेसम्म भारतीय पर्यटक मानसरोवर यात्राका लागि नआएको बताउनुभयो ।

होटल व्यवसायी महासंघ बाँकेका निवर्तमान अध्यक्ष भिमलाल कँडेलका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक बर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको संख्या विगतमा अत्याधिक बढेपछि यहाँ होटल तथा अन्य व्यवसाय फस्टाएको थियो ।

पछिल्लो समय पर्यटकको संख्यासँगै स्तरीय होटल समेत बढेका छन् । मानसरोबार यात्रा पाँच महीनासम्म चल्ने गरेको छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उप–महानगरपालिकामा मात्रै १५ सय भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेले जनाएको छ ।

मानसरोवरयात्रीलाई लक्षित गरि नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, भेरी, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजा लगायत तारे होटल समेत सञ्चालनमा छन् ।

Share this story on

Messenger Pinterest LinkedIn