नेपाली

विश्व बैंकद्वारा नेपाललाई १७ अर्ब ३६ करोड रुपैयाँ बराबर सहयोग

criPublished: 2022-06-19 16:18:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्व बैंकले नेपालमा ब्रोडब्यान्ड सेवा पहुँच विस्तार गर्न १७ अर्ब ३६ करोड रुपैयाँ बराबर (१४० मिलियन डलर) सहयोग रकम स्वीकृत गरेको छ। विश्व बैंक कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्स्सेलेरेसन (डीएनए) परियोजनाका लागि यस्तो सहयोग रकम स्वीकृत गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

सहुलियत दरमा ब्रोडब्यान्ड सेवा विस्तार गर्ने खासगरी ग्रामीण क्षेत्र र व्यवसायलाई डिजिटलमा रुपान्तरण गर्ने उद्देश्यले यस्तो सहयोग प्रदान हुन लागेको हो। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने नेपालको लक्ष्यलाई विश्व बैंकले समर्थन गरेको र यो सहयोगले व्यवसायलाई सूचना, सेवा र बजारमा जोड्ने विश्वास व्यक्त गर्नुभयो।

यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क, २०१९ मा सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ। परियोजनाले उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा सुधार गर्न मद्दत पुग्नेछ। यसले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधारमार्फत डिजिटल सरकारी सेवाहरूको डेलिभरीलाई समर्थन र सुरक्षित गर्ने बताइएको छ।

‘इन्टरनेट प्रयोगमार्फत डिजिटल सीप र उद्यमशीलता विकास, महिला, अपाङ्ग, जातीय र सामाजिक अल्पसंख्यक व्यक्तिलाई डिजिटल सेवाहरूमा पहुँच बढाउनुका साथै परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १ हजार ५०० व्यक्तिलाई राम्रो रोजगारीका अवसर सिर्जना गर्नेछ’ विश्व बैंकले भनेको छ। डीएनए परियोजना विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) द्वारा वित्तीय सहयोग प्राप्त हो।

Share this story on

Messenger Pinterest LinkedIn