नेपाली

भारतका प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा

criPublished: 2022-05-16 15:54:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा सोमबार सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुग्नु भएको छ। प्रधानमन्त्री मोदी हेलिकप्टरबाट भर्खरै लुम्बिनी आइपुग्नु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ लुम्बिनी आइपुग्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गर्नुभएको छ। आज २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको विशेष अवसर पारेर प्रधानमन्त्री मोदी लुम्बिनी आइपुग्नु भएको हो। भारतका प्रधानमन्त्री मोदीसहितको प्रतिनिधि मण्डललाई लुम्बिनीमा भव्य स्वागत गरिएको छ। लुम्बिनीमा रहँदा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुहुने कार्यक्रम रहेको छ। यसैगरी, विशेष कार्यक्रममा दुवै देशका प्रधानमन्त्री देउवा र मोदीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

भ्रमणमा प्रधानमन्त्री मोदीसहित भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रा, स्पेसल प्रोटेक्सन फोर्सका डाइरेक्टर अरुन कुमार सिंह, सहसचिवहरु अरिन्दम बाक्ची, रुद्र गौरव श्रेष्ठ, अनुराग श्रीवास्तव, नेपालस्थित भारतीय दुतावासका नाम्ग्यल सि खम्पा, स्पेसल ड्युटी अफिसर हिरेन जोशी, प्रधानमन्त्रीका निजी सचिव विवेक कुमार र प्रधानमन्त्रीका डाइरेक्टर अभिषेक शुक्ल हुनुहुन्छ। प्रधानमन्त्री मोदी विभिन्न कार्यक्रमसहित छ घण्टा लुम्बिनीमा रहेर आजै अपरान्ह ४ बजे भारत फर्कनु हुने कार्यक्रम रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn