चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति जो बाइडेन बीच टेलिफोन वार्ता
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २८ तारिख राती निर्धारित समय अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गर्नुभएको छ। दुवै देशका नेतागणले चीन अमेरिका सम्बन्ध र साझा चासोका विषयहरूमा सदिच्छापूर्वक वैचारिक आदान प्रदान गर्नुभएको छ।
वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय समाज र विभिन्न मुलुकका जनताहरूले हाल जटिल र बदलिँदो विश्वको सामना गर्दा चीन र अमेरिका दुवै देशले निर्देशनात्क भूमिका निर्वाह गर्नसक्ने आशा गरिरहेको भन्दै विश्व शान्ति र सुरक्षाको संरक्षण गर्नुका साथै विश्वव्यापी विकास र समृद्धिको प्रबर्द्धन नै चीन र अमेरिका यी दुई ठूला मुलुकको कर्तव्य भएको कुरामा जोड दिनुभएको छ।
उक्त वार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले मुख्यत:थाइवान समस्या सम्बन्धमा चीनको सैद्धान्तिक अडान बारे पनि प्रष्ट पार्नुभएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एक मात्र चीन भन्ने नीतिमा कुनै पनि परिवर्तन नभएको र नहुने भन्दै अमेरिकाले थाइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने कुराको पनि पुन:पुष्टी गर्नुभएको छ।
त्यस क्रममा दुवै देशका नेताले युक्रेन सङ्कट लगायतका ध्यानाकर्षणका विषयहरूमा वैचारिक आदान प्रदान गर्नुभएको छ।