नेपाली

तेक्वान्दो खेलाडी वु चिङ युको कथा-२

cri2021-10-11 09:33:18

यस्तै शान्त जीवन आधा वर्षसम्म चलेको थियो। तथापि, वु चिङ युले सधैँ मौन भएर खेलाडी बेलाको आफ्नो फोटो र पदक हेरेकी हौ खुनले देखेका थिए।

एक रात बच्चा सुतेपछि हौ खुनले वु चिङ युलाई भने, “यदी तिमीले फेरि तालिम सुरू गरेमा मेरो सहमति हुने छ।”

वु चिङ युले यो कुरा सुनेपछि उनका आँखाबाट आँसु खसेको थियो।

सन् २०१८ को वसन्त चाडमा हौ खुन आफ्नो छोरीलाई लिएर जन्मथलो शान तुङ प्रान्त फर्केका थिए। वु चिङ युले त्यस बेलामा चिनियाँ राष्ट्रिय तेक्वान्दो टोलीको तालिम हलमा तालिम लिइरहेकी थिइन्।

एक रात हौ खुन घरमा टेलिभिजन हेर्दै गर्दा फोन आयो। उक्त फोन उनकै श्रीमतिको भिडियो फोन थियो।

मोबाइलको पर्दामा वु चिङ युले पसिनाले भिजेको तेक्वान्दो पोशाकमा रूँदै भनेकी थिइन्, “मेरो खेल स्तर झर्‍यो।”

उनको तौल बढेको थियो, खेल स्तर झरेको थियो, जोर्नी दुख्थ्यो, बच्चाको सम्झनाले पिरोल्थ्यो, सबै चिन्ता एकै साथ थियो। उता वु चिङ यु रुँदै थिइन्, यता हौ खुनले फोनमा उनलाई सान्त्वना दिँदै थिए।

अन्त्यमा हौ खुनले वु चिङ युलाई उत्साहित बनाउँदै भने, “प्रतियोगिता स्थल फर्कनु तिम्रो आफ्नो छनौट हो। किनभने तेक्वान्दोले मात्र साँचो अर्थमा तिमीलाई तिमी भएको महसूस दिलाउनसक्छ। हाम्रो समर्थन छ। तिमी चिन्ता नगरी विस्तारै तालिम लिँदै जाऊ। यदी २०२० को टोकियो ओलम्पिक खेलकुदमा भाग लिन नसक्ने हो भने २०२४ पेरिस ओलम्पिक खेलकुदमा भाग लिँदा पनि केही फरक पर्दैन।”

यो कुरा सुनेपछि वु चिङ युको मन शान्त भएको थियो।

त्यसपछि सामान्य तालिम बाहेक वु चिङ युले हरेक दिन अतिरिक्त तालिम पनि लिएकी थिइन्, हरेक दिन उनले राष्ट्रिय तेक्वान्दो टोलीको तालिम हल बन्द हुने बेलासम्म तालिम लिएकी थिइन्।

सन् २०२१ को जुलाई २४ तारिख टोकियो ओलम्पिक खेलकुदको पहिलो दिन थियो। ३४ वर्षीय वु चिङ युले फेरि तेक्वान्दो प्रतियोगितामा भाग लिइन्। उनी ओलम्पिक खेलकुदको तेक्वान्दो प्रतियोगितामा चार पटक भाग लिने पहिलो महिला खेलाडी बनेकी छिन्। तथापि तेक्वान्दो खेलको महिलातर्फको ४९ केजीको क्वाटर फाइनलमा उनलाई २ को विरुद्ध ३३ अंकमार्फत स्पेनकी खेलाडी आदरिआननाले हराइन्।

प्रतियोगिता सम्पन्न भएको केही घण्टापछि वु चिङ युले शान्त भएर भिडियो फोन गर्छिन्। पर्दामा चार वर्षीय छोरीले आमाका लागि ओलम्पिक खेलकुद महत्वपूर्ण रहेको नबुझेर आफ्नो साथमा आमा देखेकोमा खुसी व्यक्त गर्छे। छोरी भन्छे, “आमा म तपाईँलाई धेरै सम्झन्छु, तपाईँ छिटै फर्कनुहोस्। मलाई बुवासँग सुत्न मन लाग्दैन।”

छोरीको खुसीयाली अनुहार हेर्दा वु चिङ यु पनि हाँस्छिन्। दुई दिनपछि छोरीको जन्म दिवस हो। उनले टोकियो ओलम्पिक खेलकुदको स्वर्ण पदकलाई छोरीको जन्मदिवसको उपहार बनाउन चाहेकी थिइन्, तथापि त्यो सपना पूरा भएन।

जुलाई २४ तारिख वु चिङ युले डायरीमा लेख्छिन्, “रात लामो छ। दुध पनि गुलियो छ। पदक पाएमा अरु राम्रो हुनसक्थ्यो। तथापि जीवन यस्तै हो, धेरै राम्रो कुरा हुँदैन। अबदेखि आफ्नो भूमिका परिवर्तन गरेर मुलुक र परिवारकालागि भावी योजना बनाउनुपर्छ। जीवनले निरन्तरता पाउनेछ।”

Close
Messenger Pinterest LinkedIn