नेपाली

पैचिङको आवास समुदायमा स्वयंसेवक पाकिस्तानी काका

CRI2020-05-08 09:12:52

पैचिङको छाउ याङ क्षेत्र माइ च तेन सडक कार्यालयको चाउ यिङ पै ली आवास समुदायको ढोकाअगाडि पाकिस्तानका एक नागरिकले चिनियाँ भाषाद्वारा आवास समुदाय प्रवेश भएका र बाहिर गएका वासिन्दाको तापक्रम मापन गर्नुका साथै रोकथाम तथा नियन्त्रण कदमबारे जानकारी दिँदैआएका छन्। उनको नाम हुस्सेन अब्बासी हो। ५६ वर्षीय अब्बासी पाकिस्तानी काकाको नामले समेत परिचित छन्। उनी चीनमा तीस वर्षदेखि बसोबास गर्दैआएका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण क्रममा अब्बासी आवास समुदायको महामारी प्रतिरोध कार्यमा सक्रियताका साथ सहभागी भएका छन्। स्वयंसेवकको रुपमा उनले चिनियाँ तथा विदेशी वासिन्दालाई सेवा गरेका छन्।

"मेरो विचारमा यो ठाउँ मेरो घरजस्तै हो। यहाँ लामो समयदेखि बस्दैआएका कारण मैले धेरै जनालाई चिनेको छु। मैले पनि केही योगदान दिने आशा लिएको छु।"

अब्बासी बस्ने चाउ यिङ पै ली आवास समुदायको स्थायी जनसंख्या साठी हजार छ। साथै त्यहाँ नब्बे वटा मुलुक तथा क्षेत्रबाट आएका विदेशीहरू पनि बस्छन्। अब्बासीको विचारमा धेरै विदेशीहरूलाई सहयोग चाहिन्छ। त्यसैले गत फेब्रुअरीमा उनले सडक कार्यालय र आबास समुदायसँग सवयंसेवकको लागि आवेदन दिएका थिए। उनी भन्छन् "म मेरो आफ्नो कामबाहेक अरुलाई पनि सहयोग गर्नसक्छु । त्यसैले म सक्रियताका साथ स्वयंसेवामा सहभागी हुनुपर्छ। आवास समुदायलाई पनि केही मानिसको आवश्यकता छ। त्यसैले फेब्रुअरीमा मैले सडक कार्यालयमा सम्पर्क गरें। सडक कार्यालयका कर्मचारीले मेरो फुर्सदमा केही स्वयंसेवामा सहभागी हुन मिलाइ दिएको थियो।"

अब्बासीकाअनुसार, आवास समुदायले प्रवेश अघि र बाहिर जानेबेला स्थानीय वासिन्दाको तापक्रम मापन गर्ने कदम चालेको शुरुमा बाहिरबाट पैचिङ फर्केका वासिन्दाहरूलाई थाहा थिएन। अब्बासी र अरु स्वयंसेवकहरूले उनीहरूलाई ठोस जानकारी दिएका छन्। विदेशी वासिन्दासँग भेट्दा अंग्रेजी, अरबेली भाषा, र उर्दू भाषा जानेका अब्बासीले अनुवाद गर्न सहयोग गरेका छन्।

स्वयंसेवकको रुपमा अब्बासीले रोकथाम तथा नियन्त्रण सामग्री छाप्न, सूचना वितरण गर्न मद्दत गरेका छन्। उनको विचारमा उनको आवास समुदायको रोकथाम तथा नियन्त्रण कदम सुचारु रुपमा चलिरहेको छ। उनी भन्छन्

"मेरो विचारमा सबैजनाले हाम्रो कार्यलाई समर्थन दिएका छन्। केहीको पहिले समुदायको पास कार्ड बोक्ने चलन थिएन। हाल सबैजनाले पास कार्ड बोकेका छन्। हाल सबैजनाले मास्क लगाउने र तापक्रम मापन गर्न सहयोग गरेका छन्। यहाँ बस्ने विदेशीहरूले पनि हाम्रो कार्यलाई समर्थन गरेका छन्।"

चीनको विभिन्न क्षेत्रले वुहानलाई सक्रियताका साथ समर्थन दिएको र विभिन्न क्षेत्रले विरामीको उपचार गर्न चिकित्सा टोली पठाएको देखेपछि अब्बासीले एकताबद्ध भावनाको प्रशंसा गरिनुपर्ने बताएका छन्। उनी भन्छन् "एकताको भावना निकै राम्रो छ। एक ठाउँमा कठिनाइ परेको बेलामा विभिन्न क्षेत्रका व्यक्तिहरू उक्त ठाउँमा गए, चिकित्सकहरू पनि गए। उनीहरूले आवश्यक सेवा दिएका छन्। यो निकै महत्वपूर्ण छ।"

गत शताब्दीको असीको दशकमा अब्बासी अध्ययन गर्न चीन आएका थिए। उनी पहिले शिक्षण पेशाका साथै अन्तर्राष्ट्रिय व्यापारमा संलग्न थिए। हाल उनी स्वरोजगारकर्ता हुन्। चीनप्रति उनको गहिरो भावना छ। अब्बासीको विचारमा चीनको महामारीको प्रतिरोध अनुभव विभिन्न मुलुकले सिक्न सक्छन्। विभिन्न मुलुकले आदान-प्रदान र सहयोग गरी महामारीको संयुक्त रुपमा प्रतिरोध गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn