नेपाली

छु लोङले सफलताका साथ मुमा महारानी चाओलाई सम्झाउने गरेको कथा-2

cri2021-12-01 15:55:13

यो देखेर छु लोङले कुरा थप्दै भने--"मेरो शु छि नामको छोरो छ। उ कान्छो भएकाले योग्य हुन नसके तापनि मैले सधैं नै बढी माया गरिरहेको छु। म त बूढो भइसकें। उसलाई दरबारको एक रक्षक हुने मौका दिनका लागि यहाँ म हजुरलाई अनुरोध गर्दछु।" मुमा महारानीले स्वीकार गर्नुका साथै "उ कति वर्षको भयो" भनेर सोधिन। छु लोङले जवाफ दिए--"15 वर्ष। उमेर सानो भए पनि म बित्नुभन्दा अघि उसलाई हजूरको रेखदेखमा राखिदिने मेरो आशा छ।" मुमा महारानीले "तपाईं जस्ता पुरुषले पनि आफ्नो कान्छो बाबुलाई यसरी पुल्पुल्याइरहनु सोच्न नसकिने कुरा हो" भनिन। "यस्तो कुरामा आइमाईभन्दा लोग्नेमानिस अझ मात्तिएको हो कि" छु लोङले जिस्क्याए। मुमा महारानीले मुस्कुराउँदै भनिन--"कहाँ हुनसक्छ र! आइमाईले पो आफ्नो कान्छोलाई बढ्ता माया गर्दारहेछन्।" मुमा महारानीको मनोभावमा निकै सुधारआएको बुझेपछि छु लोङले अझ कस्दै भने--"बा-आमाले आफ्ना छोरा-छोरीलाई माया गरेर उनीहरुका बारेमा दूरदृष्टिबाट सोच्नु पनि मामूली कुरा हो।" मुमा महारानीले यो कुरा पनि मानेकाले छु लोङले अचानक प्रसंगलाई चाहिने दिशातर्फ मोड्दै भने--"तर मलाई के लाग्छ भने हजूरले आफ्नो छोराका लागि पूर्ण दूरदृष्टिले सोच्न सक्नुभएन।" मुमा महारानीले पटक्कै नबुझी यसो भन्नुको कारण के हो भनेर सोधे।

छु लोङले भने--"प्राचीनकालदेखि आजसम्म पनि राज-परीवारका सन्ततिले धेरै पुस्तासम्म शासन-व्यवस्था सञ्चालन गर्नसकेको उदाहरण एकदम कमै देखिएको छ। उनीहरुमा यस सम्बन्धी क्षमता नभएको पाइएको छ। कारण यो नै रहेछ--उनीहरु निकै उच्च स्थानमा बसिरहे तापनि आफ्नो देशका लागि कुनै श्रेयदान गर्न सकेका छैनन्। यसरी उनीहरु सत्तामा आएपछि टिक्न असमर्थ हुन्छन्। अहिले हजूरले छाङ आन च्यूनलाई उच्च स्थानमा राख्नुका साथै उनलाई प्रशस्त जग्गा-जमीन तथा धन-सम्पत्ति पनि प्रदान गर्नुभयो, तर उनलाई समयमै देशका लागि श्रेयदान गर्न लगाउन भने हजूर चाहनुहुन्न। हजूर कुनै दिन छोडेर जानुभयो भने छाङ आन च्यून के चाओ राज्यमा टिक्न सक्छन् र। यस कारण नै हजूरले उनका लागि पूर्ण दूरदृष्टिले नसोच्नुभएको मैले ठहर गरेको छु।"

मुमा महरानीले छु लोङको कुरा सुनिसकेपछि पो राम्ररी बुझिन-- वास्तवमा उनी पनि आफ्नो छोरालाई बन्धकका रुपमा पठाउन सम्झाउनका लागि आएका हुन्। तर यस क्रममा थाहा नहुँदा नहुँदै पनि मुमा महारानीको हठधर्मिता पग्लेर गइसक्यो। फलतः चाओ राज्यले बग्गी, घोडा तथा कर्मचारी आदि लगायत पूर्ण व्यवस्था मिलाउने गरी छाङ आन च्यूनलाई बन्धक भएर बस्न छि राज्यमा पठाउने निर्णय गर्‍यो। त्यसपछि मात्र छि राज्यले चाओ राज्यमाथि आक्रमणको खतरा आइपर्नासाथ फौज पठाएर सहयोग गर्न मन्जूरी दियो।

Close
Messenger Pinterest LinkedIn