दुइवटा आरुले तीनजना शूरलाई मारेको कथा-2
तीनजनामध्येको दोस्रो व्यक्ति कु ये चले यो देखेर हत्तपत्त आफ्नो ठाउँबाट उठेर भने--"बाघलाई मार्नु केही पनि होइन। त्यस बेला मैले ह्वाङ ह नदीको राक्षसी छालमा एउटा भयंकर कछुवालाई ठहरै पारेर राजाको जिउज्यानको रक्षा गरें। यो श्रेय कोङ सुन चेकोभन्दा अलिकति पनि कम छैन नि!" राजाले यो सुन्दा सही कुरा हो भनेर अन्तिम आरु निज कुलाई दिए।
अब तीनजनामध्येको तेस्रो व्यक्ति थेन खाइ छियाङले आफ्नो भएभरको गुनासो थाम्न नसकी, सेनालाई लिएर शत्रु-राज्यमाथि हमला गर्ने, पाँच सयभन्दा बढी बैरीलाई समात्ने र देशलाई शक्तिशाली बनाउनका लागि उल्लेखनीय योगदान गर्ने जस्ता कुरा फटाफट भन्दै आफ्नो श्रेयदान ठूलो छ कि छैन भनेर राजालाई सोधे। राजाले केही सीप नलागी "तिम्रो श्रेयदान नि:सन्देह ठूलो छ, तर कुरा गर्नु त ढिलो भयो, अब आरु त सकिइसके, पुरस्कार अर्को पल्ट दिउँला ल" भनेर सान्त्वना दिए।
तर निज थेनले मानेन। आफूले देशका लागि यत्रो योगदान गर्दा पनि आफूलाई अर्काका पछाडि पारिएको, साथै सबैका सामु हेंला गरिएको भन्ठानेर उनले रीसको झोंकमा खड्ग झिकेर आत्म-हत्या गर्यो। यो अवस्था देखेर पहिलो शूर कोङ सुन चेले पनि हातमा खड्ग लिएर भने--"मेरो श्रेयदान सानो भए तापनि पुरस्कार पाएको, तर रथी थेनले ठूलो श्रेयदान गरेर पनि पुरस्कार नपाएकोमा यो साँच्चै नै युक्तिसंगत छैन" भन्दै उसले पनि आफ्नो घाँटी स्वाट्ट काट्यो। क्षणभरमै अन्तिम शूर कु ये चले बाहिर निस्केर कराउँदै भन्यो--"हामी तीनजनाले सँगसँगै मर्ने-बाँच्ने किरीया खाएका छौं। आज उनीहरु दुइजना मरिसकेका छन्। म मैले एक्लै बाँचिरहनुको अर्थ छैन?" यति भनेर उनले पनि आत्महत्या गरे।
छोटो समयमा तीनैजना बलवान व्यक्तिले आफ्नो प्राण आफै हरण गरे। छि राज्यका राजाले तीनीहरुलाई रोक्नेसमेत पाएनन र सबै आगन्तुक-पाहुनाहरु पनि जिल्ल परे। यसरि प्रधानमन्त्री येन यिनले आफ्नो चतुरताले दुइटा मात्र आरुबाट तीनैजना बलवान् शूरलाई एकैसाथ खत्तम पारी चतुरताका साथ देशमाथि निहित खतरालाई टारेका थिए।