नेपाली

दुइवटा आरुले तीनजना शूरलाई मारेको कथा-1

cri2021-10-13 09:08:34

ईसापूर्व सातौ‍ शताब्दीमा चीनमा अनेक स-साना राज्यहरुमध्ये एउटा छि राज्य पनि थियो। त्यहाँ थेन खाइ छियाङ, कु ये च् तथा कोङ सुन चे नामका तीनजना बलवान् व्यक्ति थिए। उनिहरुले जहिले पनि अरुसित नडराइकन जुध्नेगरेकाले उनीहरुलाई "त्रि-शूर" भन्ने नाउँ दिनुका साथै छि राज्यका राजाले तीनीहरुलाई एकदम लाड-प्यार गरिरहे, जसको परिणामस्वरुप विस्तार-विस्तारै बानी बिग्रेर ती तीनजनाले जसका सामु पनि मपाईं बन्नथाले। यत्तिकैमा छन् वु यू नाम गरेको एकजना षड्यन्त्रकारीले राजालाई सत्ताच्यूत गर्ने कुनियतसाथ ती तीजना व्यक्तिलाई पैसा खुवाएर आफ्नो हातमा पार्नखोज्यो।

छि राज्यका प्रधानमन्त्री येन यिन ती तीनजनामा दुष्ट शक्ति झन-झन बढिरहेको देखेर निकै चिन्तित थिए। राज्यको शान्तिका लागि उनले मौका पारेर ती तीनजना अहंकारीलाई स्वाहा पारिदिने निर्णय गरे। तर आफू एकजना बुद्धिजीवीले राजाको पक्का विश्वास पाएका ती तीनजना बलवान् शूरलाई कसरी मार्नसक्ने? उनले मनन गरिरहे। एक दिन, छि राज्यको छिमेकी देश लु राज्यका राजा त्यस मुलुकको भ्रमणमा आए। छि राज्यका राजाले दरबारमा पाहुनाहरुका सम्मानमा भोज दिएका थिए। प्रधानमन्त्री येन यिन, ती तीनजना शूर तथा अरु पदाधिकारीहरु पनि भोजमा उपस्थित थिए। ती तीनजना शूर घमण्डका साथ बसिरहेको देखेपछि प्रधानमन्त्री येनले तत्कालै जुक्ति निकालिहाले। भोजको बीच-बीचमा येनले राजालाई दरबारको बगैंचाबाट केही आरु टिपेर ल्याई अतिथिहरुलाई खुवाउन पाऊँ भनेर विन्ती गरे। राजाको मन्जूरी पाएर येनले दरवार पछाडिको बगैंचाबाट छवटा ताजा आरु तुरुन्तै टिपेर ल्याए। ती दुइ राज्यका राजाले एकेकवटा आरु खाए, दुबै प्रधानमन्त्रीले पनि एकेकवटा आरु खाए, अब बाँकी दुइवटा आरु कसलाई खुवाउने? प्रधानमन्त्री येनले दुबैपट्टि बसिरहेका पदाधिकारीले आ-आफ्नो योगदान बारे जानकारी दिने र जसको योगदान ठूलो देखिन्छ त्यसलाई पुरस्कारस्वरुप ती आरु प्रदान गर्ने भन्ने प्रस्ताउ राजासमक्ष गरे।

भोजमा थप खुशियाली ल्याउनसक्ने यो विचार राम्रो भएको ठानेर राजाले लौ लौ अब येनको प्रस्ताव बमोजिम शुरु गरौं भने। तत्कालै ती तीनजनामध्येको कोङ सुन चेले सर्वप्रथम आत्म-प्रशंसा गर्न थाल्यो--"पहिले राजाका साथमा शिकार खेल्न जाँदा म स्वयम् आफैंले एउटा बाघलाई मारेर राजाको सुरक्षा गरें। के यो ठूलो योगदान होइन त?" "हो, पक्कै पनि हो। पुरस्कार दिनुपर्‍यो।" राजाले निज कोङ सुन चेलाई एउटा आरु दिइहाले। निजलाई साह्रै चित्त बुझ्यो।

Close
Messenger Pinterest LinkedIn