#अल्पसंख्यक जाति# सगारमाथाको आरोहण कथा-2
तत्कालीन सन् १९६० मे २४ तारिख दिउँसो चार बजेतिरको समय थियो। चिनियाँ पर्वतारोहण टोलीका चार सदस्य वाङ फुचौ, कुङबु, छ्यु यिनह्वा र लिउ ल्यानमान एउटा ठाडो चट्टानमुनि धेरै घण्टाको अवरोधमा फसेका थिए। लगभग पाँच मिटर अग्लो चट्टान पार गर्न उनीहरूले मानिसलाई टेकेर सिँढी बनाउने योजना बनाएका थिए।
जुत्तामुनिका काँडाबाट साथीहरू घाइते हुन नदिनका लागि पर्वतारोही छ्यु यिनह्वाले भारी पर्वतारोहण जुत्ता र मोजा खोलेर लीउ ल्यानमानको काँधमा चढेका थिए। टुक्रुक्क बस्दै लिउ ल्यानमानले पछाडि चट्टानमा अडेस लगाएर धेरै प्रयासमा उभिँदै छ्युलाई क्रमशः माथि धकेलेका थिए। छ्यु यिनह्वाले कम्मरबाट किलाहरु निकालेर एक हातमा किला राख्नुका साथै अर्का हातले हथौडाद्वारा चट्टानमा किला ठोकेका थिए। समथरभूमिमा केही मिनेटमा पूरा गर्ने कार्य छ्युले लगभग एक घण्टासम्ममा पूरा गर्नुपर्थ्यो, त्यस बेला दिउँसो पाँच बजेतिर भइसकेको थियो।
किलाहरू ठोकिएपछि छ्यु यिनह्वाले त्यसमा दोस्रो चरण मानिएको चट्टान पार गरेका थिए। त्यसपछि वाङ फूचौ, कुङबु पनि लिउ ल्यानमानको काँधमा उभिएर माथि उक्लिएका थिए। तर ज्यादै थकाइ लागेकोले लिउका खुट्टा कामेका थिए। साथै उनले गहिरो श्वास-प्रश्वास गरिरहेका थिए। तीनजना साथी चट्टान पार गरेपछि उनले थाकेर लडे।
अरू तीन जनाले चट्टानबाट डोरी तल झारेका थिए। लिउले डोरी आफ्नो कम्मरमा बाँधेका थिए। त्यसपछि उनीहरूले लिउलाई चट्टानमाथि ताने।
त्यसबेला चारजनाका अगाडि ठाडो र फराकिलो मोहडा र त्यसमाथि बरफ र हिउँबाट ढाकिएको पहाड थियो। त्यहाँको उचाइ ८ हजार ६०० मिटर छ। त्यसबाट शिखरसम्मको ठाडो उचाई २०० मिटर मात्र छ। लगभग ५० तले भवनको उचाइ बराबर। तर यो सामान्य सिँढी चढेजस्तो होइन।
चार जना पर्वतारोहीहरूमध्ये हरेक जनासँग दुई सिलिन्डरभन्दा कम अक्सिजन थियो। चार जनाले छलफल गरेर एउटा आधा अक्सिजन सिलिन्डर दोस्रो चरणको शिखरमा राखेर अर्को भरि अक्सिजन सिलिन्डर लिएर सगरमाथाको शिखर जाने योजना बनाए।
त्यसपछि लिउ ल्यानमानको पछि पछि अरू तीन जना निरन्तर अगाडि गएका थिए। छिटै सन् १९६० मे २४ तारिखको अन्तिम घाम पनि बाँकी थिएन। अँध्यारोमा चार जना विस्तारै जाँदै थिए। लगभग सात बजेतिर अगाडि आरोहण गर्ने लिउ ल्यानमान अकस्मात् रूपमा बेहोश भए। उनको अनुहार सेतो र ओठ बैजनी रंगको देखियो।
“लिउ, लिउ, उठ्नू, उठ्नू। सुत्नुहुँदैन।”
साथीहरूको आह्वानमा लिउ ल्यानमानले आँखा खोलेर भन्थे
“म सक्दिन, सक्दिन। तिमीहरू मलाई छोडेर निरन्तर अगाडि जाओ।”
लिउ ल्यानमानको स्वास्थ्य कस्तो छ? अरू तीनजनाले कसरी निर्णय गर्ने? उनीहरू सगरमाथाको शिखर पुगे कि?