नेपाली

सामुहिक हित कल्याणकी स्वयमसेविका चान वै चन र बक्सिङ प्रशिक्षक श लिच्याङ

cri2021-07-19 09:54:49

सन् २०२० को अगष्ट ४ तारिख लेबनानको राजधानी बेरूटको बन्दरगाहमा विनाशकारी विस्फोटन भएको थियो। करिब ५ किलोमिटर टाढा अवस्थित एउटा कार्यालयमा ३१ वर्षीय चान वै चनले त्यस भयंकर विस्फोटनको अनुभव गर्नुभएको थियो। उहाँ लेबनानका लागि पैचिङ पिसल्याण्ड सामुहिक हित कल्याण कोषका एकजना स्वयमसेविका हुनुहुन्छ। बेरूट र वरिपरि क्षेत्रका सिरियाली शरणार्थीलाई सहायता गर्नु नै उहाँको प्रमुख काम रहेको छ।

उक्त विनाशकारी विस्फोटनपछि डरको बावजुद चान वै चनले छिटोभन्दा छिटो गरी विभिन्न शरणार्थी शिविर पुगेर शिविरभित्रको वास्तविक अवस्था नियाल्नुभएको थियो। उहाँको सहयोगमा दैनिक जीवनलाई आवश्यक मालसामान र स्वास्थ्य सामानहरू ती शिविरमा पुर्याइएको छ।

बेरूटमा कार्यरत् चान वै चनले विस्तारै त्यहाँका शरणार्थीको जीवनबारे अझ गहन रूपमा जानकारी लिनुभएको छ। त्यहाँको कामबारे चर्चा गर्दै उहाँ खुशीसँग भन्नुहुन्छ:

त्यहाँका मानिसहरूसँग हामी साथी बनेका छौँ। उनीहरूको कथा सुन्नु र उनीहरूको जीवनबारे जानकारी लिनु नै मेरो लागि खुसीको कुरा हो। साथै उनीहरूको विश्वास पनि पाएको छु। यस्तो सीमा पार मित्रता गाँस्न पाएकोमा मलाई गौरव लागेको छ।

सन् २०२१ मा लेबनानको काम सिध्याएर स्वदेश फर्केपछि चान वै चन हाल सामुहिक हित कल्याण गोष्ठीका लागि तयारी गर्दै हुनुहुन्छ। शरणार्थीहरूको कथाबारे चिनियाँ साथीलाई सुनाउने उहाँको इच्छा हो

लेबनानको डाँबाडोल परिस्थितिमा बेरूटमा तैनाथ पैचिङ पिसल्याण्ड सामुहिक हित कल्याण कोषको कार्यालयको स्थिति पनि ज्यादै खतराजनक रहेको देखिन्छ। तैपनि त्यहाँ साढे १ वर्षसम्म काम गर्नुभएको चान वै चनले आफ्नो अठोटलाई कहिल्यै पनि त्याग्नुभएको छैन। किनकि सामुहिक हित कल्याण कार्यको माया नै उहाँका लागि सबैभन्दा सशक्त समर्थन हो।

बिहान ९ बजे पैचिङको एउटा मार्सल आर्ट हलमा बक्सिङ पञ्जा लगाएकी एक युवती उनका सहकर्मी सँगसँगै बक्सिङ खेलिरहेकी छिन्। उनी यस बक्सिङ हलकी प्रशिक्षक श लिच्याङ हुन्।

२७ वर्षीय श लिच्याङले बक्सिङ खेलमा उत्कृष्ट उपलब्धिहरु हासिल गरेकी छन्। सन् २०११ मा राष्ट्रिय किशोर-किशोरी मार्सल आर्ट प्रतियोगितामा उनी पहिलो स्थानमा रहेकी थिइन्। सन् २०१३ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि पहिलो भइन्। यसै गरी, सन् २०१४ पैचिङ अन्तर्राष्ट्रिय मार्सल आर्ट महोत्सवअन्तर्गत बक्सिङ खेलमा पनि पहिलो स्थानमा रहेकी थिइन्। साथै, सन् २०१२ मा श लिच्याङलाई चिनियाँ सशस्त्र प्रहरीको बक्सिङ टोलीले छनौट गरेको थियो। उनी उस्तै उमेर भएकी अरु युवतीको तुलनामा परिपक्व छिन्। बक्सिङ खेलमा हमला गर्ने एउटा महत्वपूर्ण अंग टाउको हो। एउटा प्रतियोगितामा श लिच्याङको नाकमा चोट लागेपछि नाक नै बाङ्गिएको थियो। तथापि आफ्नो चोटभन्दा उनले आफ्नो टोलीको उपलब्धिलाई महत्व दिन्छिन्।

सन् २०१८ मा श लिच्याङ चिनियाँ सशस्त्र प्रहरीको बक्सिङ टोलीबाट अवकाश लिई बक्सिङ प्रशिक्षक बनेकी छिन्।

श लि च्याङका अनुसार बक्सिङ एउटा महान खेल हो र यो खेलले मानिसको इच्छाशक्तिलाई बलियो बनाउन सक्छ। यस बाहेक वास्तविक जीवनमा कुनै कठिनाई भेटेको खण्डमा बक्सिङले मानिसलाई उक्त कठिनाई जित्ने आत्मविश्वास दिनसक्छ।

काम वा जीवनको दबावलाई हटाउन वयस्क विद्यार्थीहरू बक्सिङ खेल्छन् र साना बच्चाहरू शरीर बलियो बनाउन बक्सिङको अभ्यास गर्दछन्। यी विद्यार्थीहरूले बक्सिङ खेल्ने प्रक्रियामा कुनै प्रगति हासिल गरेमा प्रशिक्षक श निकै खुशी हुन्छिन्।

प्रशिक्षक शले उनका विद्यार्थीहरूलाई बक्सिङ सिकाउने क्रममा खेलको दावपेँचलाई मात्र ध्यान नदिई खेलको भावनालाई पनि आत्मसाथ गरेकी छिन्। उक्त खेलमार्फत विद्यार्थीलाई बलियो इच्छाशक्ति र आत्मविश्वास बढाइदिने प्रशिक्षक शले आशा लिएकी छिन्।

आगामी दिनमा बक्सिङ खेलको एक शिक्षिकाको रूपमा विद्यालयसँग जोडिने इच्छा श लि च्याङको छ। खेलबाट आउने सकारात्मक भावनालाई अरूसँग शेयर गर्ने आशा उनले लिएकी छिन्।

उनी भन्छिन्, “आफू सूर्य जस्तै सकारात्मक ऊर्जा दिने शक्ति बनेको जस्तो लागेको छ।”

Close
Messenger Pinterest LinkedIn