नेपालमा चार महिनामा ३५ सय ईभी आयात, चीनको हिस्सा ७२ प्रतिशत
चालु आर्थिक वर्ष पहिलो चार महिनामा ३ हजार ४ सय ८७ युनिट विद्युतीय गाडी (ईभी) आयात भएको छ । भसार विभागले शुक्रबार प्रकाशित वैदेशिक व्यापारको तथ्यांकमा चार महिनामा ईभी आयात ७ सय युनिट बढेको छ । कुल ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका ३ हजार ४ सय ८७ युनिट ईभी आयात हुँदा ५ अर्ब १९ करोड २० लाख ७७ हजार राजस्व प्राप्त भएको छ ।
गत आव २०८०/८१ को पहिला चार महिनामा भने ३ हजार ७ सय ८७ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । सरकारले १५ जेठमा ल्याएको चालु आवको बजेट र आर्थिक विधेयकमार्फत ईभीमा लाग्दै आएको करको दर बढाएको थियो ।
शून्य किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढाएको थियो। १०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क १० प्रतिशत बढाएको थियो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ। ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाएर अन्तःशुल्क बढाएको हो।
कान्तिपुर अनलाइनका अनुसार ईभीको कर बढ्दै जाँदा पनि सर्वसाधारणमा यस्ता गाडीप्रतिको आकर्षण झनै बढ्दै गएको देखिन्छ । नेपाली बजारमा विशेषगरी चिनियाँ ब्रान्ड बीवाईडी र भारतीय ब्रान्ड टाटाको तीव्र प्रतिस्पर्धा छ ।
चार महिनासम्म ३ हजार ४ सय ८७ युनिट ईभी आयात हुँदा कात्तिकमा ९ सय ६९ युनिट आयात भएको छ । असोजमा ९ सय १६, भदौ १ हजार २ सय २१ र साउनमा ३ सय ८१ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । कर बढ्नुअघि वैशाख र जेठमा धेरै संख्यामा ईभी आयात हुँदा साउनमा केही तल झरेको थियो । भदौमा भएको नाडा अटो शोका लागि भदौमा आयात केही बढेको थियो ।
चालु आव चार महिनामा ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका २ हजार १ सय १५ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यस्तै ५० किलोवाटसम्म मोटर क्षमता भएका १ हजार ५० युनिट, १०१ देखि २०० किलोवाटसम्म ३ सय १६ युनिट, २०१ देखि ३०० किलोवाटसम्म ४ युनिट र ३०० किलोवाटभन्दा बढी मोटर क्षमता भएका २ युनिट ईभी आयात भएको छ ।
यसैबीच पछिल्लो चार महिनामा आयात भएका ईभीमध्ये ७२ प्रतिशत चिनियाँ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । कुल ३ हजार ४ सय ८७ युनिटमध्ये २ हजार ५ सय १० युनिट चीनबाट आयात भएको भन्सार विभागको तथ्यांक छ । त्यस्तै ९ सय ६९ युनिट भारतबाट आयात हुँदा चीन र भारत बाहेक तेस्रो मुलुकतर्फ जर्मनीबाट ६ युनिट र अमेरिकाबाट २ युनिट ईभी आयात भएको छ ।