नेपाली

पूर्वी नेपालको झापामा सौर्य विद्युत् उत्पादन

cri2024-11-10 15:58:38

सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका-४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उक्त परियोजना उद्घाटन गरिएको थियो।

कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले गत वर्षको माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको बताउनुभयो । गत माघ १० गतेदेखि यस वर्षको कात्तिक २० गतेसम्मको अवधिमा परियोजनाले एक करोड १९ लाख सात हजार सात सय ८१ युनिट विद्युत् उत्पादन गरेको उहाँले जानकारी दिनुभयो। परियोजनाबाट उत्पादित विद्युत् नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने गरेको छ । परियोजनाको १० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ ।

हिउँदभन्दा बर्खे अवधिमा चर्को घाम लाग्ने भएकाले सौर्य विद्युत् बढी मात्रामा उत्पादन हुने गरेको छ । हिउँदमा अधिकतम दैनिक ५९ हजार युनिटसम्म उत्पादन भएको छ”, कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले भन्नुभयो, बर्खाको चर्को घाम लागेका बेला दैनिक एक लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने गर्दछ ।”

प्राधिकरणले विद्युत् खरिद सम्झौता बमोजिम कम्पनीबाट उत्पादित विद्युत्प्रति युनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ । शिवसताक्षी-४ बुलुचोकमा कम्पनीले खरिद गरेको २२ बिघा जग्गामा परियोजना रहेको छ । त्यहाँ सूर्यको प्रकाशबाट आउने किरणलाई संश्लेषण गर्नका लागि ठूलो क्षेत्रफलमा सौर्य प्यानल राखिएका छन् ।प्रबन्ध सञ्चालक भट्टराईका अनुसार परियोजनामा रु ८७ करोड लगानी भएको छ। त्यसमा माछापुच्छ्रे बैंक र हिमालयन बैंकले रु ६२ करोड ऋण लगानी गरेका छन्। रासस।

Close
Messenger Pinterest LinkedIn