नेपाली

प्रधानमन्त्री ली खछ्याङको प्रतिवेदन चिनियाँ विकासको ऐना रहेको चीनका लागि नेपाली कार्यवाहक राजदूतको भनाइ

CRI2022-03-05 16:11:36

मार्च ५ तारिख शनिबार बेइजिङमा सुरु भएको १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशनको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रस्तुत गर्नु भएको सरकारी कार्य प्रतिवेदन चिनियाँ विकासको ऐना रहेको चीनका लागि नेपाली कार्यवाहक राजदूत कौशलकिशोर रोयले बताउनु भएको छ।

अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनु भएका रोयले चिनियाँ मिडिया ग्रुपको नेपाली सेवालाई शनिबार अपराह्न अन्तर्वार्ता दिँदै कोरोना महामारीका बीचमा पनि चीनले गत वर्ष ८.१ प्रतिशतले आर्थिक वृद्धि गर्न सक्नु विश्वकै लागि उल्लेख्य उपलब्धि रहेको बताउनुभयो। चालु वर्ष चीनको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रधानमन्त्री ली खछ्याङको कार्यप्रतिवेदनमा उल्लेख छ।

चीनको आर्थिक विकासले छिमेकी मुलुक नेपाल लगायत अन्तर्राष्ट्रिय जगतलाई फाइदा पुग्ने कार्यबाहक राजदूत कौशलकिशोर रोयले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो 'चीनले उच्चगुणस्तरीय आविष्कार र विकासको नीति अगाडि सारेको छ जसले गर्दा यसको प्रभाव छिमेकी मुलुक नेपाल लगायतका देशहरुमा पनि पर्नु स्वभाविक हो।'

चालु वर्ष सन् २०२२ मा चीनले सामाजिक सुरक्षाका क्षेत्रमा विभिन्न उदाहरणीय कार्यक्रम अगाडि सारेको उहाँले औँल्याउनुभयो। चीनले अगाडि सारेको तीन सन्तानको नीति कार्यान्वयनका लागि करछुट, बालबालिकाका लागि सार्वजनिक उद्दानको व्यवस्था, अभिभावकलाई रोजगारी तथा सुत्केरी विदाको सुविधा थपबाट जनसंख्या सन्तुलनमा चिनियाँ नेताहरु गम्भीर रहेको आफूले पाएको उहाँको प्रतिक्रिया छ। जेष्ठ नागरिकलाई सुविधा थप तथा महिला अधिकारमा पनि चालु वर्ष चीनले विभिन्न कदम चालेर सुधारलाई गुणस्तरीय बनाएको आफूले अनुभव गरेको उहाँको धारणा छ।

चीनले बीआरआई उच्चगुस्तरीय कूटनीति अँगालेको र नेपालले पनि बीआरआईमा हस्ताक्षर गरिसकेकाले यसबाट नेपाललाई थप लाभ प्राप्त हुने उहाँले उल्लेख गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकीपछि आयोजित राष्ट्रिय जनकंग्रेसको अधिवेशनले सीपीसीको एक सय वर्षको यात्रालाई ऐतिहासिक कोशेढुङ्गा र चीनमा भएको पूर्ण गरिबी निवारण सबैभन्दा ठूलो उपलब्धि भन्दै प्रतिवेशन सुरु भएको कुराको पनि सांकेतिक महत्व रहेको उहाँले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn