फुटबल खेलाडी रुङ च सिङको कथा-२
सन् १९६९ मा २१ वर्षीय रुङ च सिङ क्वाङ तुङ प्रान्तीय टोलीमा छनौट भएका थिए। सन् १९७१ को मे महिनामा क्युबाको फुटबल टोलीले चीनको भ्रमण गर्दा क्वाङ तुङको टोलीसँग समेत खेलको आयोजना गरेको थियो। प्रतियोगिताको दिन बीस हजार दर्शक अट्ने क्वाङ चौ य्वे श्यु शान रंगशाला पूरा भरेको थियो। प्रतियोगिताको शुरुमै क्युबाको टोलीले एक गोल गर्छ।
यो स्थितिलाई उल्ट्याउन प्रशिक्षकले एक मुख्य खेलाडीको साटोमा रुङ च सिङमाथि विश्वास गर्दै उनलाई खेलमैदानमा पठाउँछन्। अत्याधिक शौखिनहरुमाझ रुङ च सिङ अपरिचित भएकाले उनीहरुले सो निर्णय बुझेका छैनन्। तथापि नाम नचलेको खेलाडी रुङ च सिङले दर्शकहरुलाई आश्चर्यमा पारिदिन्छन्। खेलमैदानमा प्रवेश गरेको केही समयमै उनले फर्वाड खेलाडीलाई एउटा सुन्दर पास दिन्छन् र फवार्डले बललाई सफलताका साथ नेटभित्र छिराउँछन्। अब क्वाङ तुङको टोली र क्युबाको टोलीको स्थिति बराबर भएको छ। दर्शकहरु खुसी हुन्छन्।
“क्वाङ तुङ टोली, राम्रो छ। क्वाङ तुङको टोली, अर्को गोल हान्छ।” यसरी दर्शकहरु कराउँदै थिए।
दर्शकहरुको मनमा क्वाङ तुङको टोलीले अरु बढी उत्तम खेल प्रदर्शन गर्नसक्छ भन्ने थियो। नभन्दै प्रतियोगिताको अन्त्यतिर रुङ च सिङले गोल गर्छन्। उनले तीस मिटर टाढाबाट हानेको बल गोल हुन्छ। अन्त्यमा क्वाङ तुङको टोलीले एकको विरुद्ध दुई गोलले यस अन्तर्राष्ट्रिय प्रतियोगितामा जीत प्राप्त गर्दछ। सो प्रतियोगितामा उत्तम प्रस्तुती देखाएबापत रुङ च सिङ क्वाङ तुङ प्रान्तीय टोलीको मुख्य खेलाडी भएका थिए। साथै सन् १९७२ मा २४ वर्षको उमेरमा रुङ च सिङ चिनियाँ राष्ट्रिय फुटबल टोलीमा छनौट भएका थिए।
सन् १९८० को फेब्रअरीदेखि सन् १९८१ को जनवरीसम्म बाह्रौँ विश्व कप अन्तर्गत एसिया प्रशान्त क्षेत्रको ग्रुप प्रतियोगितामा फवार्ड रुड च सिङ सम्मिलित चिनियाँ टोलीले अघिपछि गरी चीनको हङ कङ, जापान, चीनको मकाउ र उत्तर कोरियाका टोलीहरुलाई जितेर चौथो ग्रुपको पहिलो स्थान प्राप्त गरेको थियो। त्यसपछि एसिया महाद्वीपको च्याम्पिएन कुवेतको टोलीसँगको खेल थियो।
प्रतियोगितामा ११ नम्बरको जर्सी लगाउने रुङ च सिङलाई कुवेतको टोलीले ध्यान दिई दुई तीनजना खेलाडी उनलाई रोक्न राखेका थिए।
एक पटकको आक्रमणमा रुङ च सिङले बल लिएर निषेधित क्षेत्रमा के प्रवेश गरेका थिए। कुवेतका दुई जना डिफेन्डरहरूले बायाँ र दायाँ दुई दिशाबाट कुदेर उनलाई च्याप्न खोज्छन्।
एक सय ७१ सेन्टिमिटर मात्र अग्लो रङ च सिङ र उनीहरू जुधेमा यस पटकको आक्रमण असफल मात्र नभई चोट लाग्ने सम्भावना पनि थियो। यस बेलामा उनले छिटै बललाई हानेर दुईजनबीच च्याप्ने अवस्थाबाट आफूलाई बचाएका थिए।
रुङ च सिङको खुट्टा भूईंमा पर्ने वित्तिकै उनको पछाडि “क्वाङ ताङ”, “अइया” लगायत अनेकन् आवाज सुनिन्छ। ती दुई डिफेण्डरहरु एकआपसमा ठक्कर खाएर लडेका थिए।
साथै रुङ च सिङ कुवेतको गोलपोस्टबाट दश मिटर पनि टाढा थिएन। उनको अगाडि कुनै अवरोध पनि थिएन।
खाली गोल!
यस बेला रुङ च सिङसँग गोडामार्फत हलुका रूपले अवश्य नै गोल गर्ने अवस्था र क्षमता थियो।
“च सिङ, गोल हान्न”
“छिटै प्रहार गर”
फुटबल मैदान बाहिर भएका प्रशिक्षक र सबै खेलाडीहरुले उभिएर रुङ च सिङलाई कराउँदै थिए।
तथापि त्यहाँ आश्चर्यजनक कुरा घट्छ।