हान फै च चीनको इतिहासमा युद्धरत काल (इसा पूर्व 475 देखि इसा पूर्व221सम्म)का प्रसिद्ध दार्शनिक र फा विचारधाराका ठूला विद्बान एवम् साहित्यकार हुन्। उनले स्थापित गरेको फा विचारधाराले चीनमा पहिलो केन्द्रीय अधिकारिक मुलुकको स्थापनाका लागि आधार तयार पारेको थियो।
हान फै च युद्धरत कालको अन्त्यमा हान राज्यका उच्च दर्जाका रइस थिए। उनी भकभके थिए तर उनले धेरै राम्रा किताब लेखेका थिए।
त्यस बेला, हान राज्यको परिस्थिति दिनप्रति दिन नराम्रो हुँदैगएको थियो। आफ्नो राज्यका भक्त भएकाले हान फै चले हानका सम्राटसमक्ष सुधारका लागि धेरै पटक सुझाव प्रस्तुत गरे। उनले प्रस्तुत गरेका सुझाव-पत्रमा शासकहरुले राज्यलाई बलियो पार्ने र सेनालाई सशक्त पार्ने कार्यलाई सबैभन्दा महत्वपूर्ण कार्यका रुपमा लिनुपर्ने कुरा उल्लेख गरिएको थियो। तर हानका सम्राटले उनको सुझावलाई अस्विकार गरे। त्यसपछि हान फै चले देशको शासन-व्यवस्था सञ्चालनका क्रममा प्राप्त अनुभव र तत्कालीन सामाजिक अवस्था वमोजिम "उ चु", "कु फन", "नैवाइछुशो", "शो लिन", "शो नान"आदि जम्मा गरी एक लाख अक्षर भएका राजनैतिक शोध-प्रबन्ध लेखेर "हान फै च"नामक किताब बनाए। उनका ती शोध-प्रबन्धहरुले हान राज्यको ध्यान आकृष्ट गर्न नसके तापनि त्यस बेलाको बलियो राज्य छीनका सम्राट- यीङ चङलाई त्यो निकै मन पर्यो। त्यसपछि यीङ चङले हान राज्यमाथि आक्रमण गर्नथाले। हानका सम्राटले हान फै चलाई छीन राज्य पठाएर युद्ध रोक्ने प्रयास गरे। छीनका सम्राट यीङ चङले हान फै चलाई महत्वपूर्ण पद दिने निर्णय गरे। त्यस बेला छीन राज्यका प्रधानमन्त्री ली स हान फै चका सहपाठी थिए। हान फै च आफूभन्दा धेरै राम्रो भएको कुरा ली सलाई थाहा थियो। त्यसैले ली सले छीनका सम्राटसमक्ष हान फै चका बारेमा झुठो निन्दा गरे र अन्तमा छीनका सम्राटले ली सको कुरामा विश्वास गरे। छीनका सम्राट यीङ चङले हान फै चलाई झ्यालखानामा राखेर उनलाई विषालु खाना खुवाएर उनलाई मारे।