तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

2020-01-05 18:49:40

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकले अब आउनेबित्तिकै बुद्धको जन्मभूमिमा स्वागत पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई 'बुटिक एयरपोर्ट' बनाउने अवधारणाअनुरूप साजसज्जा र स्वरूप परिवर्तन गर्ने क्रममा स्थापना गरिएको बुद्धको प्रतिमासँगै बुद्धको देश नेपालमा स्वागत गरिएका शब्द पाउने भएका छन्।

    विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत रु. ७० लाख रहेको र यसमा झन्डै २४ लाख रुपियाँ मूल्यको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाउनुभएको हो। 'वेलकम टु दी ल्यान्ड अफ लर्ड बुद्ध' लेखिएको बुद्धको प्रतिमा अनावरण गर्दै पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताउनुभयो।

    यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेको र यसले छुट्टै आनन्दको महसुस गराउने उहाँले बताउनुभयो।
बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्ने छन् सहज रूपमा अवलोकन गर्न पाउने छन्। बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम सुरु भएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने बाँकी काम क्रमशः अघि बढाइने उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो। अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महत्वपूर्ण पाटो हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान