तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

नेपालको लगानी बोर्डद्वारा १२ खर्बका लागि लगानीकर्ता पहिचान

2020-01-05 18:33:11

नेपालको लगानी बोर्डद्वारा १२ खर्बका लागि लगानीकर्ता पहिचान

    गत वर्ष चैतमा काठमाडौँमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत ५० आयोजनामध्ये १४ वटामा करिब १२ खर्ब रुपैयाँ लगानीका लागि सम्भाव्य लगानीकर्ताको पहिचान भएको लगानी बोर्ड कार्यालयले बताएको छ। बोर्डले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा ११ खर्ब ८८ अर्ब बराबरका १४ परियोजनाको पूर्वयोग्यता मूल्यांकन पूरा भएको जानकारी दिएको कान्तिपुर अललाइनले लेखेको छ।

    ती परियोजनामध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको छ। यो आयोजनामा १ अर्ब २१ करोड ७४ लाख अमेरिकी डलर लागत अनुमान छ। सम्मेलनपछि १० करोड ५४ लाख अमेरिकी डलर बराबर लागत अनुमान गरिएको सवारी उत्पादन तथा एसेम्बल गर्ने कारखाना निर्माणका लागि कोरियाली कम्पनी मोट्रेक्ससँग सम्झौता भइसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो। झापाको दमकमा नेपाल-चीन मैत्री पार्क निर्माणका लागि पनि सम्झौता भएको उहाँले जनाउनुभयो। पार्कको लागत ६४ अर्ब ६१ करोड अनुमान छ। विराटनगर, वीरगन्ज र भैरहवामा निर्माण हुने बहुउद्देश्यीय लजिस्टिक पार्कका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न दुई कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको अधिकारीले जानकारी दिनुभयो। यो पार्क निर्माणको अनुमानित लागत १३ अर्ब छ। सम्मेलनका क्रममा 'सोकेस' गरिएका परियोजनाबाहेक अन्यमा पनि प्रस्ताव परेको उहाँले बताउनुभयो। ५० बाहेकका परियोजनामा पनि १५ वटा प्रस्ताव प्राप्त भएका थिए। तीमध्ये १० वटा परियोजना कार्यान्वयनका लागि अध्ययन भइरहेको छ। सम्मेलनका क्रममा हस्ताक्षर र घोषणा भएका १६ वटा समझदारीको समेत कार्यान्वयन भइरहेको बोर्डले जनाएको छ। बोर्डले हालसम्म ५ सय ६५ अर्ब कुल लागत भएका नौ वटा विभिन्न क्षेत्रका परियोजनाको कार्यान्वयन र सहजीकरण गरिरहेको अधिकारीले बताउनुभयो। त्यसमध्ये १ खर्ब ४ अर्ब रुपैयाँ लागतको अरुण तेस्रो जलविद्युत् परियोजनाको बाँध, विद्युत्गृह तथा सुरुङ निर्माणको एकतिहाइ काम सकिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान