तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिनियाँ सहयोगमा तयार भयो दरबार हाई स्कुल

2020-01-02 16:49:25

चिनियाँ सहयोगमा तयार भयो दरबार हाई स्कुल

    चिनियाँ सहयोगमा भूकम्पले ध्वस्त भएको दरबार हाई स्कुलको नयाँ भवन बनेको छ। चीनको सांघाई कन्स्ट्रक्सनले ५२ कोठाको चारतले भव्य भवन बनाइदिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का उपनिर्देशक दिलीपशेखर श्रेष्ठले अबको दुई महिनाभित्र नवनिर्मित भवन हस्तान्तरण हुने कार्यतालिका रहेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

    'चीनबाट विज्ञ टोली आएर परीक्षण गरेलगत्तै चीनले सरकारलाई भवन हस्तान्तरण गर्नेछ,' उहाँले भन्नुभयो। चीनकै कन्सल्ट्यान्ट र ठेकेदारले ८५ करोड रुपैयाँ लागतमा भवन बनाएका हुन्। नयाँ भवनमा ४० जनाका दरले विद्यार्थी अट्ने ४६ वटा कोठा छन्। हरेक विद्यार्थीलाई अलग-अलग कुर्सी र टेबलको व्यवस्था गरिएको छ। पुस्तकालय, सभा हल, स्टाफ हल, लेखा तथा प्रशासन कक्ष, क्यान्टिन, खानेपानी र शौचालय छन्।

    नयाँ भवनमा २०७७ वैशाखबाट पठनपाठन हुनेछ। साबिकको व्यवस्थाअनुसार नयाँ भवनमा भानु माध्यमिक विद्यालय र संस्कृत मावि सञ्चालन हुनेछन्। तर, तिनको सञ्चालन कसरी गर्ने भन्ने अन्योल छ। यसअघि गठित विद्यालय व्यवस्थापन समितिको म्याद सकिइसकेको र नयाँ समिति गठन भई नसकेकाले सञ्चालनमा अन्योल भएको हो। 'व्यवस्थापन समितिको म्याद सकिएको धेरै भयो, नयाँ गठन हुन सकेको छैन,' प्रधानाध्यापक हेमचन्द्र महतोले भन्नुभयो 'महानगरको शिक्षा विभागले चाँडै गर्ने भनेको छ।' नियमानुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावक व्यवस्थापन समितिमा रहनुपर्ने हुन्छ।

    भानु माविमा अधिकांश विद्यार्थी काठमाडौंबाहिरबाट आएर व्यापार, व्यवसाय र मजदुरी गर्ने अभिभावकका छोराछोरी छन्। यहाँ शिशु कक्षादेखि १० कक्षासम्म पढाइन्छ। प्रधानाध्यापक महतोका अनुसार शैक्षिक सत्र ०७६ मा १ सय ५० विद्यार्थी भर्ना भएकामध्ये १ सय ३० जना मात्र नियमित छन्। मावि तहका ८, निमाविका ४, प्राविका ६ र निजी स्रोतका ३ गरी २० शिक्षक र ४ जना कर्मचारी छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान