जुम्ला सिँजाका रामसिंह रावलले आफ्नो बगैंचामा उत्पादित स्याउ आफैं काठमाडौं पुर्याउनुभयो। जुम्लाको अर्गानिक स्याउले निकै ठूलो महत्व पायो। फलस्वरूप माग अत्याधिक बढ्यो। उहाँले घरघरमै जुम्ली स्याउ पुर्याउनुभयो। ग्राहकको घरसम्म पुग्दा प्रतिकेजी १ सय ५० रूपैयाँ भाउ पाउनु भएको नागरिक अलनाइनले लेखेको छ। उहाँले भन्नुभयो, 'जुम्ली स्याउ नामले मात्र आकर्षक छैन, स्वाद पनि उत्तिकै राम्रो छ। माग पनि बढ्दो छ।' जुम्लाबाट लगेको सात टन स्याउ उहाँले राम्रो मूल्यमा बेच्नुभयो।
जुम्ली स्याउको माग अनुसार पुर्याउन नसकिएको किसानको गुनासो छ। कर्णालीमा स्याउ उत्पादन पनि निकै लोभलाग्दो छ। किसानको स्याउप्रतिको माया पनि उस्तै। 'स्याउ उत्पादन वर्षैपिच्छे बढ्दो छ,' उहाँले भन्नुभयो, 'कर्णालीको आर्थिक मेरुदण्ड नै स्याउ हो। स्याउमा लगानी गर्नु आर्थिक रूपमा कर्णालीलाई आत्मनिर्भर बनाउनु हो।'
कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्लामा स्याउ फल्छ। जुम्ला स्याउको स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा कर्णालीको प्रमुख आम्दानीको स्रोत स्याउ भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, 'यहाँ स्याउको सम्भावना अत्यधिक छ। कर्णालीमा अर्गानिक स्याउ उत्पादन भएकोले माग पनि बढ्दो छ। कृषि मन्त्रालयले पनि कृषिमा स्याउ प्रवद्र्धनात्मक कार्यमा प्राथमिकता दिएको छ।'
पछिल्लो समयमा बगैंचा काँटछाँट, व्यवस्थापन, मलखाद र सिँचाइ व्यवस्थापनमा किसानले प्राथमिकता दिएका छन्। जुम्लामा यो वर्ष ११ हजार मेट्रिक टन स्याउ उत्पादन भयो। त्यसमध्ये साढे ६ हजार टन जिल्लाबाहिर निर्यात भयो। स्याउ बेचेर जुम्लामा ३० करोड रूपैयाँ भित्रियो। स्याउ खेतीले हरेक वर्ष जुम्लाको आम्दानी बढिरहेको छ। यहाँको १४ हजार बगैंचामध्ये साढे ६ हजार बगैंचाको स्याउ फल्छ। ३४ सय ५० हेक्टरमा लगाएकोमा ११ सय हेक्टरबाट फल मिल्छ।