तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ

2019-12-30 16:00:53

बाख्राको दूध प्रतिलिटर हजार रुपैयाँ

    झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूध बेचेर मनग्य आम्दानी गरेका छन्। बिर्तामोड नगरपालिका-३ स्थित शिव कृषि फार्मका सञ्चालकले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका हुन्। फार्मका सञ्चालक दिनेश ओझाले एक महिनामा करिब १० हजार रुपैयाँको बाख्राको दूध बिक्री गर्नु भएको कारोबार अनलाइनले लेखेको छ। डेंगु रोग लागेका बिरामीका लागि भन्दै मानिस बाख्राको दूध लिन उहाँको फार्ममै पुग्ने गरेका छन्। “धेरैजना बाख्राको दूध खोज्दै आउनुहुन्छ,” ओझाले भन्नुभयो, “दूध दिएवापत एकजना बिरामीबाट एक हजार रुपैयाँ लिने गरेका छौँ, एकजना बिरामीले पाँच पटकसम्मको डोज माग गर्ने गरेका छन्।”

    एक डोजमा २ सय मिलिलिटर दूध दिने गरेको ओझा बताउनुहुन्छ। जसको मूल्य २ सय रुपैयाँ पर्ने उहाँले बताउनुभयो। त्यसलाई हिसाब गर्दा बाख्राको दूध प्रतिलिटर एक हजार रुपैयाँ पर्न जान्छ। फार्ममा उन्नत र स्थानीय जातका ५९ वटा बाख्रा छन्। त्यसमध्ये ३० वटा माउले दूध दिन्छन्। गाईपालन र माछापालन समेत गरेका ओझाले मासुका लागि बाख्रा पाल्नु भएको थियो। मासुको प्रयोजनले बाख्रा पालन गरे पनि दूधसमेत बेच्दा राम्रो कमाइ हुँदोरहेछ, दोहोरो फाइदा भयो।

    कतिपय चिनेजानेकालाई औषधिको रूपमा सित्तैमा दूध दिएको उहाँले बताउनुभयो। आफ्नो छोरीलाई डेंगु रोग लाग्दा बिर्तामोड-३ सैनिकमोडका साउनिया राजवंशीले गाउँबाट खोजेर बाख्राको दूध खुवाउनु भएको थियो।। डेंगु लाग्दा बाख्राको दूध खुवाउनु पर्छ भनेर अरुले भनेको र त्यही सुनेर आफूले पनि खोजेर बाख्राको दूध खुवाएको उहाँले बताउनुभयो। तर चिकित्सकले डेंगु लागेका बिरामीलाई बाख्राको दूध खुवाउनै पर्ने अनिवार्य नभएको बताएका छन्। बिर्तासिटी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट अनिलकुमार बस्नेतले आफूले कसैलाई पनि बाख्राको दूध प्रेस्क्राइब नगरेको बताउनुभयो। “डेंगु लागेका बिरामीलाई प्रशस्त मात्रामा पानी खुवाउनु पर्छ,” उहाँले भन्नुभयो, “बाख्राको दूध, मेवाको पातको रसजस्ता तरलपदार्थ जरुरी हुँदैन।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान