नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बाँकेमा पर्यटकीय गन्तव्यको पहिचान

2019-12-25 14:59:31

नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवर्द्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सूचीकृत गरिएको छ। जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवर्द्धन समितिले बाँकेका सात स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो।

समितिले नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, खजुरा गाउँपालिका गौघाटस्थित झोलुङ्गे पुल र गुराँस सामुदायिक वन, बैजनाथ गाउँपालिकाको गाभर होमस्टे, जानकी गाउँपालिकाको जोगागाउँस्थित मन्दिर र तलाउ, राप्तीसोनारीको सिक्टा पुल र ढकेरीको बोटानिकल गार्डेनलाई सूचीमा समावेश गरेको राससले जनाएको छ।

गत मङ्सिर पहिलो साता बाँकेका गन्तव्य पहिचानका लागि तेजविक्रम शाहको अध्यक्षतामा बनेको समितिले बाँकेका सात स्थानीय तहका पर्यटकीय स्थलको सूची तयार गरेको थियो। गन्तव्य पहिचानका लागि गठित समितिले बाँकेका आठै स्थानीय तहसँगको समन्वयमा पर्यटकीय गन्तव्यको सूची तयार गरेको समितिका अध्यक्ष शाहले बताए।

उनका अनुसार नरैनापुर गाउँपालिकाबाहेक सात स्थानीय तहले पर्यटकीय स्थल सूचीकरणका लागि समितिसामु प्रस्ताव गरेका थिए। त्यस्तै, डुडुवा गाउँपालिकाको कमरशा बाबा मजार, कोहलपुर नगरपालिका अन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जलाई बाँकेको पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरी सूचीकरण गरिएको छ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्लामा भ्रमण वर्ष सफल पार्न विभिन्न पाँच उपसमिति बनाएर तयारी गरिरहेको बताए। समृद्धिको आधार पर्यटन नै भएकाले मुलुकको यो अभियानमा सहयोग र सहकार्य गर्न समितिले सम्पूर्ण बाँकेवासीमा आह्वान गरेको छ।

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटरको दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ। स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ। यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन्। पछिल्लो समय बाघको सङ्ख्या बढदै गएपछि चासो बढेको हो। निकुञ्जमा हात्ती सफारीको व्यवस्था छ। मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान