तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चिसो बढेपछि सुनसान बन्यो हिल्सा नाका

2019-12-25 14:57:22

चिसो बढेपछि हुम्ला जिल्लाको उत्तरी क्षेत्रको हिल्सा नाका सुनसान देखिन थालेको छ। नेपाल-चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो।

हिल्सा क्षेत्रमा मंसिर अन्तिम सातादेखि भारी हिमपात भइरहेको छ। पुस, माघ, फागुन तीन महिनामात्रै हिमपात हुने भए तापनि यो वर्ष मंसिरमै भारी हिमपात हुँदा उत्तरी क्षेत्रका बस्तीको जनजीवन थप प्रभावित बनेको छ। यहाँ बिहान-बेलुका बढी चिसो हुनुका साथै तापक्रम माइनस १० डिग्रीमा झरेको छ। उत्तरी क्षेत्रका तिल, जान, हल्जी, यारीमुचु, याङ्गारलगायतका बस्तीमा मानिसको बसोबास पातलिएको छ। तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान छाएको नेपालखबर डटकमले लेखेको छ।

उत्तरी हिल्सा नाका क्षेत्र आसपासमा अहिले चार फिट हिउँ जमेको छ। हिमपातले हिल्सा नाका मात्रै नभएर जिल्लाको टाके, न्यारु, चुवा खोलालगायत उच्च हिमाली भेगमा रहेका सीमामा पर्ने नाकाका बाटाहरु हिउँले बन्द छन्।

हुम्लीहरुको आयस्रोतको रूपमा हेरिने हिल्सा नाका हिमपातले छ महिना बन्द र छ महिना सञ्चालन हुने गर्छ। हुम्लीहरु वैशाखको अन्तिमदेखि काम र व्यापारका सिलसिलामा नाका भएर चीनको ताक्लाकोट जाने गर्छन्। चीनको सीमानाका हिल्सामा मात्रै ४० होटल तथा पसल रहेको कैलाश होटलका सञ्चालक कार्मा तुन्डुप लामाले जानकारी दिए।

वैशाखको अन्तिम र जेठ पहिलो सातादेखि कैलाश मानसरोवर दर्शनका लागि जाने विदेशी तथा स्वदेशी पर्यटकको मुख्य बाटो पर्ने भएकाले पनि जेठदेखि असोजसम्म यहाँ रहेका होटल तथा पसल भरिभराउ हुने लामाले बताए।

अत्यधिक हिमपात भएर चिसो हुन थालेपछि सिमानाकामा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन्। वर्षेनी हिउँदको छ महिना सिमकोट सार्ने गरिएको जिल्ला प्रहरी कार्यलय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान