तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

रसुवागढी नाकाबाट पर्यटक भित्रिने क्रम बढ्यो

2019-12-25 14:51:44

रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक भित्रने क्रम बढेको छ। पछिल्लो ११ महिनामा नाकाबाट साढे ३० हजार पर्यटक नेपाल आएका छन्।

अध्यागमन कार्यालय रसुवाका अनुसार सन् २०१९ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा ३० हजार पाँच सय १७ पर्यटक भित्रिएका हुन्। सन् २०१८ जनवरीदेखि नोभेम्बर अन्तिमसम्ममा २८ हजार पाँच सय ९२ पर्यटक भित्रिएका थिए। कार्यालयको तथ्यांक हेर्दा यो वर्ष एक हजार नौ सय २५ पर्यटक बढी आएको देखिन्छ। गत वर्षको तुलनामा पर्यटक आगमन बढेको कार्यालयका सूचना अधिकारी गणेश भण्डारीले बताएको नागरिकन्यूजले लेखेको छ।

नाकाबाट आउने पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेको छ। चिनियाँबाहेक रसुवागढी नाकाबाट ५२ देशका पर्यटक नेपाल आएका छन्। चीन, सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्ष मुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन्। सन् २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ।

सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार चार सय ७८, सन् २०१८ मा २९ हजार एक सय ५४ र सन् २०१९ को ११ महिनामा ३० हजार पाँच सय १७ पर्यटक नेपाल आएका कार्यालयको तथ्यांक छ। यो नाका भएर नेपाल भित्रने प्रमुख देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड, जर्मनी, इटाली, फ्रान्स र अस्ट्रेलिया पर्छ।

रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकले गुनासो गरेका छन्नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्। अधिकांश चिनियाँ पर्यटकले ल्हासा, क्वानचौबाटै भिसा लगाएर आउने गरेका छन्। करिब १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन्।

रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन। विभागको वेबसाइटमा गएर फारम भर्न सकिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान