तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

बिहीबार खण्डग्रास सूर्यग्रहण

2019-12-24 16:02:44 CRI

    बिहीबार सूर्योदयपछि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। ग्रहणका क्रममा काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देख्न सकिनेछ। काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ।

    काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताएको ईकान्तिपुर डटकमले लेखेको छ।

    पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ। यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ। विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ।

    छिमेकी मुलुक भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट यसलाई बलयाकार सूर्यग्रहण (एनुलर) का रूपमा देख्न सकिने छ। भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिनेछ।

    सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञले चेतावनी दिएका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान