व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरका रूपमा विकास गर्न काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा 'स्मार्ट सिटी'मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ। भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी 'काठमाडौँ इशान'र 'काठमाडौँ आग्नेय', ललितपुरमा प्रस्तावित स्मार्ट सिटी 'काठमाडौँ नैऋत्य'को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले दिएको गोरखापत्र अनलाइनले लेखेको छ। साथै काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी 'काठमाडौँ उत्तर'को डीपीआर मस्यौदा तयार भई अन्तिम प्रतिवेदन बनाउने क्रममा रहेको छ।
डीपीआरअनुसार सबभन्दा ठूलो स्मार्ट सिटी 'काठमाडौँ इशान'को कुल निर्माण लागत चार खर्ब रुपियाँ हुनेछ भने अन्य तीनवटाको कुल निर्माण लागत ४०/४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ। त्यसैगरी काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ। सबभन्दा ठूलो स्मार्ट सिटीका रूपमा प्रस्तावित 'काठमाडौँ इशान'को क्षेत्रफल एक लाख रोपनीको र बाँकी तीनवटाको क्षेत्रफल दस/दस हजार रोपनीको हुने छ।
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पुराना बस्ती बोडे र ठिमी यसै स्मार्ट सिटीअन्तर्गत पर्नेछन्। प्रस्तावित स्मार्ट सिटी क्षेत्रका अहिले भएका पुराना घरहरू, सम्पदाहरू जोगाइने छ भने खाली ठाउँमा मात्र सहरको 'प्लानिङ'गरिने बताइएको छ। प्राधिकरण प्रमुख तिवारीका अनुसार, सबभन्दा ठूलो स्मार्ट सिटी 'काठमाडौँ इशान'मा सातवटा पोखरी निर्माण गरिने र दुईवटालाई तालका रूपमा विकास गरिने छ।
२०७४ साल वैशाख २४ गते बसेको काठमाडौँ उपत्यका विकास प्राधिकरणको बैठकले काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो।