तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

चीनको छङ्तुमा होटल संघ नेपालको नेपाल प्रवर्द्धन कार्यक्रम

2019-12-23 16:28:58

छिमेकी मुलुक चीनको छङ्तुमा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा यही डिसेम्बर १६ देखि २० सम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य र उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो।

डिसेम्बर १८ मा आयोजित उक्त कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले स्वागत मन्तव्यका क्रममा होटल संघ नेपालको निमन्त्रणामा आएका प्रमुख अतिथि राजदूत लिलामणी पौडेल, छङ्तु स्थित लसान नगरपालिकाका उपमेयर लियो के क्वान र टूर अपेटर तथा मिडियाकर्मीलाई स्वागत गर्दै नेपालको पर्यटनको बारेमा चर्चा गरेको नेपालखबरले लेखेको छ।

संघकी अध्यक्ष सृजना राणाले छिमेकी मुलुकमा आयोजना गरिएको यस कार्यक्रमले दुई देशबीचको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। अध्यक्ष राणाले नेपालको होटलको इतिहासका बारेमा भिडियो प्रस्तुत गर्दै समग्र नेपाली पर्यटनको बारेमा चर्चा गरिन्। उनले नेपाल भ्रमण वर्षको समिति सदस्यको हैसियतले नेपालको पर्यटनको बारेमा प्रस्तुतीकरण गर्दै भ्रमण वर्षभरि खाना र बसोबासको लागि आकर्षक छुट दिएको पनि बताइन्।

प्रमुख अतिथि राजदूत लिलामणि पौडेलले नेपाल भ्रमणका अवसरमा आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणप्रति थप आकर्षण रहेको बताए। बिटुबी बैठकमा छङ्तुस्थित करिब १२० जना टुर अपरेटरहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले सीएनएनले समेत नेपाललाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको जनाउँदै नेपाल भ्रमण गर्न अनुरोध गरे।

कार्यक्रमको विशेष अतिथि लसान नगरपालिकाका उपमेयर लियो के क्वानले चीनका राष्ट्राध्यक्ष सि जिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा आकर्षण रहेको बताउँदै उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणका लागि पहल गर्ने बताए। उनले होटल संघ नेपालबाट आयोजना गरिएको यस कार्यक्रमले अझ चिनियाँ पर्यटकहरुको नेपाल प्रति बढ्दो आकर्षण रहेको बताउँदै दुई देशीय पर्यटन प्रवर्द्धन सम्बन्धी सक्दो सहयोग गर्ने बताए।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान