तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > नेपालका समाचार > विस्तृत विषय

एआईआईबीबाट नेपालका लागि पहिलो ऋण स्वीकृत

2019-12-22 14:25:52
r_1634906_2019122214254894342900.jpg

    एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपालका लागि पहिलो ऋण स्वीकृत गरेको छ। बैंकको बोर्ड बैठकले शुक्रबार नेपाललाई दिने ११ करोड २३ लाख अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

    एआईआईबीबाट प्राप्त हुने पहिलो ऋण कर्णाली र सुदूरपश्चिममा विद्युतीकरणका लागि खर्चिइनेछ। 'यो रकम नेपालको पश्चिमी क्षेत्रमा विद्युत्को गुणस्तर सुधार र पहुँच विस्तारका लागि खर्च हुनेछ,' एआईआईबीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको विवरणमा भनिएको छ।

    आर्थिक सर्वेक्षणअनुसार प्रदेशगत विद्युत् पहुँचमा सुदूरपश्चिम र कर्णाली प्रदेश सबैभन्दा पछाडि छ। कर्णालीको जनसंख्यामध्ये २७.०३ प्रतिशतमा मात्रै विद्युत् पहुँच पुगेको छ। सुदूरपश्चिममा भने ५८.९० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको तथ्यांकले देखाउँछ।

    नेपालका ७८ प्रतिशत जनतामा राष्ट्रिय ग्रिडबाट विद्युत् पहुँच पुगे पनि कर्णाली र सुदूरपश्चिम कम विद्युतीकरण भएको क्षेत्र मानिन्छन्। यहाँका धेरै जनता विद्युत्को पहुँच बाहिर छन्। यो रकम यी क्षेत्रमा वितरण प्रणाली सुदृढीकरण र विद्युत् सेवा विस्तारका लागि खर्च हुने एआईआईबीले बताएको छ।

    एआईआईबीले नेपाललाई दिएको यो पहिलो ऋण भए पनि अनुदान भने नेपालले यसअघि पनि पाएको छ। एआईआईबीले सन् २०१८ मा नेपाललाई १० लाख अमेरिकी डलर बराबरको अनुदान रकम प्रदान गरेको बैंकले प्रकाशित गरेको विवरणमा जनाइएको छ। उक्त रकम पश्चिम नेपालमा विद्युतीकरण कार्यक्रमको सम्भाव्यता अध्ययन, प्राविधिक तयारी र वातावरणीय तथा सामाजिक व्यवस्थापनका लागि खर्चिइएको थियो।

    एआईआईबीले प्रदान गर्ने ऋण रकमले कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा विद्युतीकरण, २१ वटा सबस्टेसन र २ हजार किलोमिटर वितरण लाइन निर्माण गरिनेछ। चीनको नेतृत्वमा सन् २०१६ देखि सञ्चालित एआईआईबीमा एक सयभन्दा बढी देश सदस्य छन्। बेइजिङमा मुख्यालय रहेको बैंकको उद्देश्य एसिया र यसबाहेकका देशमा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु हो।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान